जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासको छोरा रामभजन दासबाट कुटिएका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्रकुमार साहले नगरपालिकाका ८३ कर्मचारीलाई पदमुक्त गरेका छन् ।
लोकसेवा आयोगबाट सिफारिस भएर आएकी महिला शिक्षक पवन कुमारीलाई अधिकृत साहले माघ २७ मा हाजिर गराएका थिए । मेयर बाहिर रहेको बेला किन हाजिर गराएको रु भन्दै उनका छोरा रामभजनले अधिकृत साहमाथि हातपात गरेका थिए । माघ २९ मा नगरपालिका आएका मेयर दासले पनि ज्यान मार्ने धम्की दिएको साहले बताएका छन् ।
विवाद बढ्दै गएको बेला साहले कर्मचारीलाई बर्खास्त तथा कारवाही गरेको पत्रहरू सार्वजनिक गरेका छन् । उनले माघ २८ मै ८३ कर्मचारीलाई विभिन्न कारण देखाउँदै हटाएको देखिन्छ ।
हटाएकामध्ये अधिकांश करार र ज्यालादारीका कर्मचारी छन् । नगर प्रहरीदेखि असईसम्मका १२ जनालाई पनि हटाइएको छ । कतिपय कर्मचारीको ग्रेड रोक्का गरिएको छ भने कतिपयको पुनः नियुक्ति गर्न नमिल्ने गरी बर्खास्त गरिएको छ ।
अधिकृत साहले सार्वजनिक गरेको पत्रहरू अनुसार १२ प्रहरी, नयाँ नियुक्त विभिन्न पदका १० जना, डोर हाजिरमा कार्यरत ३५ जना, करार सेवामा ६ महिना र एक वर्षका लागि नियुक्त २० जना र इन्जिनियरसहित ६ कर्मचारीलाई बर्खास्त गरिएको छ ।
नगरपालिकाले केहीदिन अगाडि मात्रै कानून अधिकृत १ जना, सिभिल इन्जिनियर र सिभिल सव इन्जिनियर २(२ जना, कम्प्युटर अपरेटर ५ जना, नगर प्रहरी सहायक निरीक्षक १ जना, नगर प्रहरी हवलदार १ जना र नगर प्रहरी जवान १२ जना करार कर्मचारीको रूपमा नियुक्त गरेको थियो । अधिकृत साहले उनीहरूको नियुक्ति करार सम्झौता ९ बमोजिम खारेज गरी नियुक्ति बदर गरिएको सूचना जारी गरेका छन् ।
अधिकृत साहले म्याद थप नभएका करार कर्मचारीहरूलाई काम नगर्नरनगराउन पनि निर्देशन दिएका हुन् । उनले नगरपालिकामा आन्तरिक स्रोतबाट २०८१ पुस मसान्तभित्र कुनै कारणले म्याद थप नभएका करार सेवामा कार्यरत कर्मचारीहरू तथा तिनीहरूको करार अवधि पुस मसान्तमा सकिएकाले तिनलाई कुनै आर्थिक सुविधा उपलब्ध नगराउन सूचना जारी गरेका छन् ।
सूचनामा भनिएको छ, ‘थप कर्मचारी आवश्यक भएमा उत्कृष्ट सेवा प्रवाहको लागि लोकसेवा आयोग, मधेश प्रदेशसँग राय लिएर विषय विज्ञ मगाई मात्र भर्ना गराउनुहुन जारी गराइन्छ । यस पत्र मार्फत ती कर्मचारीहरूलाई अब नगरपालिकामा काम नगर्नरनगराउन सबैलाई जानकारी गराइन्छ । सो गरेमा प्रचलित कानून बमोजिम कारबाही भई जानेछ ।’
यस्तै अधिकृत साहले सब इन्जिनियर राम पुनित मण्डल, प्राविधिक सहायक दिनेश कुमार यादव, लघु उद्यम विकास सहजकर्ता बबिता मण्डल र एमआइएस अपरेटर मनोज अधिकारीलाई पनि पदमुक्त गरेका छन् ।
करार सेवाका सब–इन्जिनियर मण्डलले आर्थिक हिनामिना गरेको र उनको कार्य सम्पादन सन्तोषजनक नरहेकाले नियुक्ति बदर गरिएको अधिकृत साहद्वारा जारी सूचनामा उल्लेख छ ।
यस्तै प्राविधिक सहायक यादव र एमआईएस अपरेटर अधिकारीले कार्यालयमा काम गर्ने वातावरण बिथोलेको भन्दै पुनः नियुक्त गर्न नमिल्ने गरी उनी दुवै जनाको नियुक्ति बदर गरिएको छ ।
अधिकृत साहले नगरपालिकाको स्वास्थ्य शाखा प्रमुखको रूपमा कार्यरत छैटौँ तहका कर्मचारी दानी ठाकुरको ग्रेड रोक्का गरेका छन् । उनको ग्रेड रोक्का गरिएको सूचनामा अधिकृत साहले लेखेका छन्, ‘नगर प्रमुखको छोरा तथा नगर प्रमुखबाट मानसिक र शारीरिक रूपमा पीडित मेरो विरुद्धमा नगरप्रमुखसँग मिलेर ममाथि तथ्यहीन आरोप लगाई नाराबाजी तथा कार्यालयको काम गर्ने वातावरण बिगारेकाले निजको ग्रेड रोक्का गरिएको जानकारी गराइन्छ ।’
यस्तै नगरपालिकामा शिक्षा संयोजक माध्यमिक तृतीय तहका भाग्य रायण ठाकुर र स्टोर शाखा प्रमुख भुला यादवको ग्रेड पाँच वर्षका लागि रोक्काको सिफारिस गरिएको छ ।
अधिकृत साहले शिक्षा संयोजक ठाकुरमाथि अधिकारभन्दा बाहिर गएर शिक्षक सेवा आयोग पास गरी आएकी कर्मचारी पवन कुमारीलाई हाजिर गराएको निहुँमा विवाद सिर्जना गराएको आरोप लगाएका छन् । स्टोर शाखा प्रमुख यादवलाई स्टोररजिन्सी सम्बन्धी केही जानकारी नभएको र उनले कार्यालयको सबै गोपनीयता भंग गरेको आरोप अधिकृत साहको छ ।
भर्खर नियुक्त १० कर्मचारीको नियुक्ति बदर गरिएको विषयमा अधिकृत साह भन्छन्, ‘नयाँ कर्मचारी नियुक्त गर्न परीक्षा लिइरहँदा अवजेक्टिभ प्रश्न पत्र बाहिरिएको गुनासो आएको छ । त्यसैले नयाँ नियुक्त सबै कर्मचारीको नियुक्ति बदर गर्यौँ ।’
हटाएको कर्मचारीबारे उनले भने, ‘सबै मेयरको झोले कार्यकर्ता थिए । काम गर्न सकिरहेका थिएनन । कार्यसम्पादन कमजोर थियो । त्यसैले हटाएँ ।’
आफूमाथि आक्रमण भएपछि अधिकृत साह नगरपालिका गएका छैनन् । प्रशासनसँग सुरक्षा मागेको र उपलब्ध नगराएका कारण आफू कार्यालय जान नपाएको उनको जिकिर छ । उनले भने, ‘प्रशासन सुरक्षा दिन असमर्थ भएपछि कार्यालय जान पाएको छैन ।’
उनले आफू कुटिएको घटनाबारे सीडीओ, डीआईजी, मुख्यमन्त्री र प्रधानमन्त्रीसम्मलाई जानकारी गराएको भएपनि मेयरसामु सबै निरीह बनेको टिप्पणी गरे ।
उनले भने, ‘सिडिओ साहेब कहाँ तीन चार दिन गयौँ । उहाँले तपाईँलाई यतिखेर पुर्याउँछु, त्यतिखेर पुर्याउँछु भन्नुहुन्छ । तर, सुरक्षा दिन सक्नुहुन्न ।’
हेर्नुस् प्रशासकीय अधिकृत साहले कर्मचारीहरूलाई थमाएको बर्खास्त तथा कारबाहीको केही पत्र

साभारः नेपाल प्रेस








