चितवन । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमालेले आगामी २०८४ को तीनै तहको निर्वाचनमा बहुमत ल्याउने गरि अभियान चलाएको बताएका छन् ।
प्रेस चौतारी नेपाल बागमती प्रदेशको दोस्रो अधिवेशनमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले नेकपा एमालेले देशमा स्थिरता ल्याइ देशको निर्णायक शक्तिको रुपमा एमालेलाई स्थापित गराउन एमालेले बहुमत ल्याउनुपर्ने बताएका हुन् ।
देशलाई सुदृढ बनाएर अघि बढाउन नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुको विकल्प नभएको भन्दै उनले थपे ‘एमालेलाई कमजोर बनाउनु भनेको राष्ट्रवाद, राष्ट्रिय हित, लोकतन्त्रको पक्षमा उभिएको अभियानलाई कमजोर बनाउनु हो । त्यसैले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापित गरेर देशको दुर्दशा अन्त्य गर्नुपर्छ ।’
वरिष्ठ उपाध्यक्ष पोखरेलले सोही कार्यक्रममा एमालेमा कुनै गुट नभएको पनि स्पष्ट पारेका छन् । उनले एमालेभित्र नीति र नेतृत्वमा विवाद नभएको स्पष्ट पार्दै भने, एमालेमा केपी ओलीले गरेको नेतृत्वमा पार्टी कमिटी छ र दसौँ महाधिवेशनले पारित गरेको नीतिमा पार्टी चलेको छ ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले सरकारले सामाजिक सञ्जाल विधेयक मार्फत सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश र नियन्त्रण गर्न नखोजेको भन्दै नियमन गर्न खोजेको पनि बताएका छन् ।
पोखरेलले नेकपा एमाले र नेपाली काँग्रेस दुई दल देशको सङ्कटको समयमा एक ठाउँ हुने बताउँदै एमाले काँग्रेस सहकार्य र प्रतिस्पर्धी पार्टी समेत भएको बताएका छन् ।








