तनहुँ । गत स्थानिय तहको निर्वाचनमा व्यास नगरपालिकाको मेयर पदका उमेदवार रहेका दिपकराज जोशीले जनताको हितविपरीत स्वार्थसिद्धिमा लिप्त रहेकाहरुबाट व्यास नगरपालिकालाई जोगाउन दीपक राज जोशीको अपिल गरेका छन् । जोशीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै व्यास नगरपालिकामा पछिल्लो समय देखिएका भ्रष्टाचार, अनियमितता, स्रोतसाधनको दुरुपयोग, अपारदर्शी निर्णय प्रक्रिया र सार्वजनिक सम्पत्तिको अव्यवस्थित व्यवस्थापनप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । जोशीले प्रस विज्ञप्तिमा विशेष रूपमा फोहोर व्यवस्थापनसम्बन्धी जग्गा खरिद प्रकरण मा सार्वजनिक भएको अडियोले प्रशासनिक पारदर्शिता र जवाफदेहितामाथि प्रश्न उठाएको बताएका छन् ।
नगरका प्रतिनिधिहरू जनताको हितविपरीत स्वार्थसिद्धिमा लिप्त देखिएको बताउदै जोशीले विभिन्न मागहरू राखेका छन् । उनका मागहरुमा फोहोर व्यवस्थापन जग्गा खरिद प्रकरणको निष्पक्ष छानबिन सहित स्वतन्त्र समिति गठन गरी दोषीलाई कानुनी कारबाही गरियोस्। विगतका घोटालाहरूको विस्तृत अनुसन्धान गर्दै जनप्रतिनिधि तथा कर्मचारीहरूको संलग्नता स्पष्ट पारियोस्। भविष्यमा यस्ता अनियमितता रोक्न सुधार लागू गरि, सार्वजनिक सम्पत्तिसम्बन्धी निर्णयमा जनताको सहभागिता सुनिश्चित गरियोस् भन्ने रहेका छन् । नगरको सुशासन, पारदर्शिता र जनहित रक्षा गर्न सम्पूर्ण नगरबासी, राजनीतिक दल, नागरिक समाज तथा सरोकारवाला निकायलाई एकताबद्ध हुन पनि जोशीले अपिल गरेका छन् ।








