जसले गणतन्त्र ल्याउन नेतृत्व गरे उनीहरुले नै गणतन्त्रलाई आफ्नो पेवा ठाने । संसारलाई भ्रम छर्ने राम्रा शब्दहरुको छनौट र संयोजन गरेर संविधान लेखियो। नेपालको संविधानलाई संसारकै उत्कृष्ट भनेर प्रचार गरियो। राष्ट्रिय अन्तर्राष्ट्रिय जगत र नेपाली जनताले समेत पत्याइदिए। तर विडम्बना उत्कृष्ट भनिएको संविधानले २० वर्षसम्म न त राजनीतिक स्थायित्व प्रदान गरेको छ न त विकास र समृद्धिको यात्रा तय गरेको छ। संविधानलाई हाँक्ने ड्राइभर र पालक कहिल्यै ठिक परेनन्।
गणतन्त्रको नाममा शासन सञ्चालन गर्नेहरुले आफ्नो अनुकूल संविधानका छिद्र खोज्न थाले र आफ्नो अनुकूल ब्याख्या गर्न थाले। आफु र आफ्नो दलले कसरी फाइदा लिन सकिन्छ भनेर लागि परे। बॉचुञ्जेल सत्तामा पुग्न र टिकिरहने रणनीतिमा गणतन्त्र ल्याउनेहरु लागिपरेका छन्। सत्तामा पुग्ने र पुगिसकेपछि टिकिरहने खेलले गर्दा समाजमा विकृति, विसंगति र भ्रष्टाचारले मलजल पायो। फलस्वरूप उत्कृष्ट संविधान भएर पनि आज नेपाल एसिया प्रशान्त क्षेत्रकै नंबर एक गरीव मुलुक बन्न वाध्य भएको छ।
गणतन्त्र ल्याउने पुस्ताले बाँचुञ्जेल अर्को पुस्तालाई राजनीति हस्तान्तरण गर्न नचाहॅदा आज देशले यो अवस्था व्यहोर्नु परेको छ। अर्को पुस्तालाई राजनीतिको मुलधारमा समावेश गरेर गणतन्त्रको मर्म के हो र कसरी गणतन्त्रलाई पालन पोषण गर्ने, कसरी हुर्काउने भन्ने शिक्षा दिन त परै जाओस राजनीतिमा आएर देश, विकास र जनताका लागि केहि गर्छु भन्नेलाई निषेध गर्ने बाटो अवलम्बन गरिदैछ।
विकास र समृद्धिको यात्रामा उठ्नै नसक्ने गरी हाम्रा सामाजिक संरचनाहरु भत्किइसकेका छन्। स्रोत अथाह छ, सम्भावना प्रचुर छ र पनि युग, परिवेश र प्रविधि सुहाउँदो नेतृत्वको जवरजस्त अभाव छ। केहि गर्छु भन्ने नयाँ पुस्ता र नयाँ दललाई काम गर्न नदिने प्रवृत्तिका कारण देश झनझन गरीव हुॅदै जाने देखिन्छ। सत्ता सञ्चालनमा नयाँ पुस्ताको नयाँ शिराबाट हुने इन्ट्रीलाई निषेध गर्न खोजिदै छ। यहि प्रवृत्तिको उपज स्वरुप आधाभन्दा बढि नयाँ पुस्ता विदेशिन वाध्य भएका छन्। नेपालको ठुलो जनसङ्ख्यालाई वाल्यकालमा हुर्काउन र पढाउन देशको ढुकुटीको प्रयोग हुनेगर्दछ। जब उ वयस्क हुन्छ, उसका हातपाखुरा बलिया हुन्छन् र देश निर्माण गर्न सक्षम हुन्छ तव ऊ अर्काको देशको सेवामा जान वाध्य हुन्छ। वाल्यकाल र बुढेसकालको वोझ नेपालले लिनु पर्ने तथा देश, जनता र विकासमा योगदान दिने उमेर विदेशीको सेवामा बिताउनुपर्ने वर्तमान अवस्थाको अन्त्य हुन जरुरी रहेकोछ। मौलाउदै गरेको विकृति, विसङ्गति र भ्रष्टाचारका कारण कतै गणतन्त्र नै ठिक छैन कि भन्ने भाष्य सृजना भइरहेको तर्फ सचेत गराउँदै संविधान संशोधनको उद्बेश्यसहित बनेको गठबन्धनको सरकार यसतर्फ संवेदनशील हुन जरुरी रहेको छ ।
(तनहुँको भानु नगरपालिकाका ई. न्यौपाने रास्वपा केन्द्रीय उर्जा नीति बिभाग प्रमुख हुनुहुन्छ ।)








