काठमाडौं । नेकपा माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले सरकारको गलत क्रियाकलापको कारणले नै राजावादीहरू सडकमा उत्रिएको दाबी गरेका छन् ।
पार्टीको नेवाः तामाङ केन्द्रित उपत्यका जागरण अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले आफ्नो पदको दुरुपयोग गरेको आरोप लगाए ।
उनले भने, ‘भिजिट भिसामार्फत गृहमन्त्रीले ज्याद्रो ढंगले सरकारमा बसेर काम गरिरहेका छन् त्यसमा सती जाने काम कांग्रेस र एमालेको गठबन्धन सरकारले गर्दैछ । देशका मान्छेलाई सरकारमा बसेका मन्त्री र मन्त्रीको पद दुरुपयोग गरेर देशका जनता बेचेर खाने प्रवृत्तिले गर्दा राजावादीहरू सडकमा उत्रिन अवसर प्राप्त गरेका हुन् । तीनका विरुद्ध पनि हामीले प्रतिवाद गर्नुपर्छ ।’
उनले यो सरकार नक्कली भुटानी शरणार्थी प्रकरणसहित ठूला काण्डलाई दबाउन बनेको दाबी गरे । जिउँदो मान्छेलाई इँटाभट्टामा हालेर जलाउनेलाई अदालतले दोषी नदेखेको भन्दै उनले आलोचना गरे ।
नेपाल प्रेस








