तनहुँ । गत असार ५ गते तनहुँको देवघाट गाउँपालिका वडा नं. ५ बद्रिमुक्ती टोल बस्ने वर्ष ३२ को प्रकाश पौडेलको हत्या गरी फरार रहेका जोगी भन्ने लोक बहादुर महत पक्राउ परेका छन् । हत्या पश्चात भागी फरार रहेका जिल्ला महोत्तरी बर्दिवास नगरपालिका वडा नं. १ बस्ने बर्ष ४६ को जोगी भन्ने लोक बहादुर महतलाई इलाका प्रहरी कार्यालय देवघाट तनहुँबाट प्रहरी नायव निरिक्षक उदयराज पौडेलको कमाण्डमा खटिई गएको टोलीले पक्राउ गरेको हो । निज जोगीलाई चितवनको भरतपुर महानगरपालिका वडा नं. १ देवघाट स्थित रोटरी क्लव चितवनले सञ्चालन गरेको बृद्धा आश्रममा लुकछिपी रहेको अवस्थामा असार ७ गते पक्राउ गरेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
३२ बर्षिय प्रकाश पौडेलको हत्या गर्ने अन्य व्यक्तिहरु पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नं. ८ नयाँपाटी २८ बर्षिय बुद्ध सारु मगर, मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा नं. ३ हटिया बस्ने ४२ बर्षिय राम लामालाई असार ५ गते पक्राउ गरी सम्मानित तनहुँ जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको पनि जल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।








