केहि बर्ष अगाडि एकदिन काम बिशेषले व्यास नगरपालिकाको कार्यालयमा जाँदा प्यासेजमा भेटिएका व्यासका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले भनेका थिए ”धेरै बेथितिहरुलाई चिर्दै व्यासलाई अगाडि बढाउदैछु खाजा, खानामा १ करोड १० लाख रुपैया खर्च अब शुन्यमा झार्छु । सार्वजनिक सुनुवाईको नाममा दुई, साढे दुई लाख रुपैया खर्च हुदोरहेछ त्यसलाई ५०, ६० हजारमा झाँरिसके , प्रत्येक बर्ष माघ १६ गते शहिद दिवसका दिन हुने व्यास म्याराथनमा करिब १२, १५ लाख रुपैया खर्च हुनेरहेछ त्यसलाई आधाभन्दा कममा झाँरेसाके । म पनि यहि पालिकाको बासिन्दा हुँ सकेसम्म नगरपालिकालाई राम्रो बनाउने सकेसम्म प्रयास गर्नेछु” तर नागिलाको प्रयासले खासै मुर्तरुप लिन पाएन । नागिलाले बढि नै कस्न खोजेर हो कि के हो व्यास नगरपालिकाभित्रको एउटा उन्मत्त समुह उन्का विरुद्ध तानावाना बुन्न थाल्यो सके नगरप्रमुख कै सामुन्ने पुक्याउने, नसके धम्क्याउने, केहि सिप नलागे अफिसमा छिर्न नै नदिने । नागिलाको सरुवा गर्नको लागि पावर लगाउने एउटा समुह काठमाण्डौ पनि नपुगेको होईन तर अगाडि देखिने र पर्दा पछाडि बसेर दम हाल्नेले नागिलाको सरुवा गर्न सकेनन् । आफुमाथि ठुलै अभद्र व्यवहार हुदैछ भन्ने सुईको पाएका नागिला विदामा बसे । उनी बिदामा बसेपछि केहिले ”हाकिमलाई त्यस्तो व्यवहार गर्नुहुदैन” भनेर रोकेपनि उन्मत्त समुहले कार्यालयमा टाँसेको नागिलाको नेमप्लेट झिकेर फ्याँकिदियो, उन्ले चलाउने सरकारी ईमेल आईडि पनि बन्द गरिदियो, पालिकाले हाकिमलाई दिएको सवारी साधनको पनि साँचो खोसेर उन्लाई अर्को गाडि खोजेर काठमाण्डौ जान वाध्य पार्दै व्यास नगरपालिकामा ताण्डव नृत्य देखाईयो । नागरिकले तिरेको करमा ‘‘तारासगै जुन” मा डान्स गर्न अभ्यस्त टोलीले हाकिम काठमाण्डौ गएपछि विश्व विजेता झैं भट्टितिर दरो पार्टी गरेको अपुष्ट खबर पनि चियापसलतिर महिनौं भरि चलिरह्यो र आजपर्यन्त चलिरहन्छ । नागिलाको शैलि व्यवहार भिन्न कुरा, राम्रो नराम्रो भिन्न कुरा यसरी व्यास नगरपालिकाबाट प्रमुख प्रसाशकीय अधिकृतलाई वाध्यतावश अन्यत्र जान वाध्य पारियो ।
गीतामा एउटा श्लोक छ ”जब जब यस पृथ्वीमा अन्याय हुन्छ, म जन्मन्छु।” त्यस्तै व्यास नगरपालिकामा एउटा चर्चित भनाई छ ”जब जब व्यासमा भ्रष्टाचार, अनियमिताका काण्डहरु बारे चर्चा बाहिरिन्छन् , सकेसम्म ढाँकछोप गरिन्छ नभए एकाध काण्डहरुमा अपवाद बाहेक काण्ड घटाउनेहरुलाई होईन कसै न कसैलाई वलि चढाउने प्रयास गरिन्छ ।” १० लाखको औषधी खरिद प्रकरण बाहिरिएपछि अहिले व्यास नगरपालिकामा पनि त्यस्तै भएको छ । उक्त प्रकरण छानविन गर्न बनेको भुमिगत छानविन समितिले प्रतिवेदन बुझाएपछि भित्रभित्रै अनेकौं खिँचडीहरु पाकेका छन् । अब उक्त प्रकरणमा जोडिएकाहरुलाई त के ल्याकतले कारवाही गर्नु र उक्त प्रकरण बाहिर ल्याउनेहरुलाई कारवाहीको डण्डा चलाउन खोजिएको विश्वस्त सुत्रले जानकारी दिएको छ त्यसैले व्यास नगरापलिकाको १० लाखको औषधी खरिद प्रकरणमा पनि कोहि न कोहि त हरिराम नागिलाकै नियति भोग्ने पक्का छ । अनेकन काण्डहरु भोग्न अभ्यस्त व्यास नगरवासी जग्गा खरिद प्रकरणको ५० लाख काण्ड सेलाउन नपाउदै “जनप्रतिनिधि वा कर्मचारी अब को बन्ने हो हरिराम नागिला ?” गाँईगुई कुरा गरिरहेका छन् र भनिरहेका छन् ”यो हो व्यास नगरपालिका हजुर यहाँ जे पनि हुन सक्छ ।”








