नेकपा एमालेले गर्यो पूर्वराष्ट्रपति विद्या भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । नेकपा एमालेको नवौँ केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको छ ।
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा भएको बैठकको दोस्रो दिन मंगलबार मध्यरातमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्काउने सम्भावना नरहेको स्पष्ट पारे।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको धारा ८ र ९ को व्याख्या गर्दै भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने र उनी राजनीतिमा फर्किन नमिल्ने निष्कर्ष सुनाएका हुन् ।
ओलीले बैठकमा केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जबाफ दिने क्रममा भण्डारीको पार्टी सदस्यता नवीकरण नै त्रुटिपूर्ण रहेको पनि बताए।
‘उहाँले अरूमार्फत पार्टी सदस्यता नवीकरण गराउनु भएछ,’ ओलीले दिएको जबाफ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘नवीकरण विधान अनुसार त्रुटिपूर्ण छ। फेरि नवीकरण उहाँले गरेको होइन। यो पार्टीको निर्णय नभई हुँदैन।’
भण्डारीले स्वेच्छाले सदस्यता त्यागेको भन्दै पुनः सदस्य बन्न सुरु प्रक्रियाबाट जानुपर्ने तर्क अध्यक्ष ओली र उनीनिकटकाले गरेका छन् ।
भण्डारीले पार्टीको ११ औँ महाधिवेशनबाट नेतृत्व लिने तयारीसहित गत असार १४ गते राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् । तर केन्द्रीय कमिटीको निर्णयले तत्काललाई उनको योजना पुरा नहुने देखिएको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकपछि जानकारी दिँदै पूर्वराष्ट्रपति राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतीक र मुलुकको अभिभावक हुने भएकाले यस्तो व्यक्तिको राजनीतिक दलको नेता वा कार्यकर्ता बन्ने कुरा स्थापित मूल्यमान्यता, संविधानको मर्म र भावना विपरीत हुने भन्दै निर्णय गरिएको स्पष्ट पारे ।
उनले भने, ‘पूर्व राष्ट्रपति देशको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको सिम्वोल, देशको अभिभावक हो । यस्तो व्यक्ति राजनीतिक दलको नेता कार्यकर्ता हुने कुरा स्थापित मूल्यमान्यता अनुसार हुँदैन । यसले संविधान, मर्म र भावना विपरीत हुन्छ भन्ने निष्कर्ष निकालेको छ ।’
पूर्वराष्ट्रपतिको हकमा जनताले उठाउन सक्ने प्रश्न, प्रणाली माथि उठ्न सक्ने प्रश्नलाई रोक्न पार्टीको सक्रिय राजनीतिमा आउन हुँदैन भन्ने निष्कर्षमा पुगेको प्रचार विभाग प्रमुख गौतमले बैठक पछि सुनाए । राष्ट्रपति जस्तो गरिमामय पदमा पुगेको व्यक्ति कुनै पार्टीको झन्डा बोकेर हिँड्नु हुँदैन भनेर यो निर्णयमा पुगिएको गौतमले स्पष्ट पारेका थिए । यो एमालेको मात्र नभएर सबै पार्टीको लागि गम्भीरताको विषय रहेको उनको भनाइ थियो । ‘पूर्वराष्ट्रपति प्रति हामी सबैको गौरव छ, हामी अगाडि बढाउने छौँ’, उनले सञ्चारकर्मीहरूलाई भने ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विद्या भण्डारी अब कमरेड विद्या भण्डारी नभएर सम्माननीय पूर्वराष्ट्रपति भएको घोषणा गरेको पनि उनले बताए ।
मंगलबार बिहान ११ बजे सुरू भएको बैठक मध्यरातसम्म गर्दा करिब १२ घन्टा चलेको थियो। दुई दिनसम्म चलेको बैठकको समापनमा अध्यक्ष ओलीले उक्त निर्णय औपचारिक रूपमा प्रस्तुत गरेका थिए ।
यद्यपि बैठकमा सहभागी नेताहरू सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र कर्ण थापाले भने उक्त निर्णयप्रति असहमति जनाएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको सक्रिय राजनीतिमा फर्कने निर्णय गरेपछि सो विषयमा बहस सुरु भएको थियो । मंगलवार मात्र पूर्वराष्ट्रपति भण्डारीले आफू राजनीतिमा आउने घोषणाबाट पछि नहट्ने बताएकी थिइन् । केन्द्रीय कमिटीको बैठकले त्यसलाई टुङ्ग्याउँदै आउने अधिवेशनबाट पनि वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै अध्यक्ष बनाउने निश्चित जस्तै गरेको छ ।
बैठकले ७० वर्षको उमेर हद र दुई कार्यकालको सीमालाई पनि हटाएर ओलीलाई पार्टी अध्यक्ष बन्ने बाटो खुल्ला गरिदिएको छ । यो निर्णय भदौमा हुने विधान अधिवेशनले पास गरेपछि वैधता पाउने छ ।
दुई कार्यकाल र ७० वर्षे उमेर हद दुवै व्यवस्था ओलीलाई रोक्नेमात्रै भएको कारणले अहिले पार्टीले रोक्न नचाहेको प्रचार विभाग प्रमुख गौतमले बताए ।
‘७० वर्षको उमेर हद राख्नु र दुई कार्यकाल राख्नु पनि उहाँ (केपी शर्मा ओली) लाई रोक्नु हो । यसको सम्पूर्ण काम हाम्रो पार्टीको अध्यक्षलाई एघारौं महाधिवेशनमा पार्टीको अध्यक्ष हुन रोक्ने मात्रै रहेछ । अहिले हामी रोक्न चाहँदैनौं,’ गौतमले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?