पूर्वसचिव पोखरेलमाथि आरोप- ‘५ लाख, वनकुखुरा र अरिंगाल खाए, काम गरिदिएनन्’

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । हाल अवकाश भइसकेका भूमी व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव अर्जुन पोखरेलले समेत पोखरा लिचीबारीको जग्गा रजिष्ट्रेशन गरिदिने भनी पाँच लाख रुपैयाँ लिएको खुलेको छ ।
निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो रेकर्ड गर्ने व्यक्तिले अख्तियारमा गएर केही अनुसन्धान अधिकारीहरूसँग सचिव पोखरेललाई रानीबारीस्थित उनकै घरमै पुगेर पाँच लाख रुपैयाँ बुझाएको बताएका छन् ।
अडियो रेकर्ड गर्ने व्यक्ति, घुस प्रकरणबारे अनुसन्धान गरिरहेको अख्तियारको टोली एवं भूमी व्यवस्था मन्त्रालय सम्बद्ध स्रोतका अनुसार, भूमीमन्त्री बलराम अधिकारीलाई बारम्बार भेट्न जाँदा अडियो रेकर्ड गर्ने व्यक्तिको सचिव पोखरेलसँग समेत भेट भएको थियो ।
‘त्यत्तिकै कसैले पनि काम गर्दैन, साँच्चै काम गराउने हो भने कर्मचारीहरूको चित्त बुझाउनुपर्छ भनेर सचिवले पैसा माग्नुभएको रहेछ,’ भूमी व्यवस्था मन्त्रालय स्रोतले भन्यो, ‘त्यसपछि मन्त्रालयमै काम गर्ने एक कर्मचारीलाई साथमा लिएर ती व्यक्तिले रानीबारीस्थित सचिव पोखरेललाई घरमै पुगेर ५ लाख दिएका रहेछन् ।’
त्यतिबेला उनले ‘ग्लेनफिडिक’ नामको मदिरासमेत सचिव पोखरेलको घरमा पुर्‍याएका थिए ।
आफूले अरूसँग पैसा नबुझ्ने भन्दै सचिव पोखरेलले मन्त्रालयकै एक अधिकृतलाई रकम दिन अह्राएका थिए । र कर्मचारीले घरभित्र पुगेर त्यो रकम दिएको स्रोतको दाबी छ । उक्त स्रोतका अनुसार, लेनदेन हुँदा अडियो रेकर्ड गर्ने व्यक्ति उनको कम्पाउण्ड बाहिर थिए ।
त्यसबाहेक नयाँपुलको होटल हाइवेमा बैंकिङ क्यूआरमार्फत करिब १५ हजार रुपैयाँ भुक्तानी भएको छ । अडियो रेकर्ड गर्ने व्यक्तिले अख्तियारका अनुसन्धान अधिकारीहरूलाई बताए अनुसार, आफू बिरामी भएको भन्दै सचिव पोखरेलले पोखराबाट तागतदार खानेकुरा मगाएका थिए ।
नयाँपुलको त्यो होटलबाट सचिव पोखरेललाई २ वटा वनकुखुरा, करिब आधा किलो अरिंगालको प्याकेट घरमै पुर्‍याएका थिए । सचिव पोखरेललाई आफूले गरेको खर्च र लगानीबारे समेत ती व्यक्तिले अडियो रेकर्ड राखेको दाबी गरेका छन् ।
सचिव पोखरेलले मालपोत कार्यालय, कास्कीमा प्रमुख मालपोत अधिकृत चिरञ्जिवी पौडेल सरुवा भएर आएपनि फरक नपर्ने भन्दै ‘उसलाई आफूले भनिदिने र लिचीबारीको सबै काम गरिदिने’ आश्वासन दिएका थिए । अडियो रेकर्ड गर्ने व्यक्तिले अनलाइनखबरसँग भने, ‘त्यही काम होला कि भनेर सचिवलाई पनि खुसी बनाएको हुँ ।’
अदालतको फैसला कार्यान्वयन हुनुपर्ने र त्यसअनुसार पोखरा बाटुलेचौरको लिचीबारीको जग्गा आफ्नो नाममा हुनुपर्ने भनी शाह परिवारले मालपोत कार्यालयमा निवेदन दिएको थियो । त्यससम्बन्धी केही प्रक्रिया अघि बढाएपछि मालपोत कार्यालय कास्कीका प्रमुख रामचन्द्र अधिकारी लमजुङमा सरुवा भए  त्यसपछि सरुवा भएर आएका प्रमुख मालपोत अधिकृत चिरञ्जिवी पौडेललाई ‘निर्णय गर्न भनिदिने’ आश्वासनका साथ सचिव पोखरेलले रकम लिएको अडियो रेकर्ड गर्ने ती व्यक्तिको दाबी छ ।
तर, अर्कैको लगानीमा कास्की मालपोतमा सरुवा भएका पौडेलले भूमि व्यवस्थामन्त्री बलराम अधिकारीलाई ७० लाख रुपैंया रुपैयाँ बुझाएको अश्लील संवादयुक्त अडियो सार्वजनिक भएको छ । त्यसपछि मालपोत कार्यालय, कास्कीका प्रमुख पौडेलले कुनै निर्णय नगरेपछि उनलाई सरुवा गराउन अडियो रेकर्ड गर्ने व्यक्तिले मन्त्री अधिकारीलाई रकम बुझाएका थिए ।
त्यसपछि शृङ्खलाबद्ध रूपमा अडियो बाहिरिएको थियो । आरोपबारे प्रतिक्रिया लिन अनलाइनखबरले पटकपटक सम्पर्क गर्दा पनि पूर्वसचिव पोखरेल सम्पर्कमा आउन चाहेनन् ।
अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?