काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुलिङ अफ पिरियडको प्रावधानमाथि छेडखानीसम्बन्धी प्रकरणमा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । हिजो बसेको सचिवालय बैठकले सो निष्कर्ष निकालेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
निजामती सेवा विधेयकको मस्यौदामा छेडखानी गर्दै कुलिङ अफ पिरियडलाई निस्प्रभावी बनाइएको सम्बन्धी विवादमा छानबिनका लागि बनाइएको संसदीय समितिले हिजो प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनले समितिका सभापति रामहरि खतिवडालाई नैतिक जिम्मेवार ठहर्याएको छ । उनले आवश्यक समन्वय गर्न नसकेको प्रतिवेदनमा उल्लेख छ । यसैमा टेकेर रास्वपाले खतिवडाको राजीनामा मागेको हो ।
हिजोको बैठकमा रास्वपाभित्र पनि उच्चपदस्थ सरकारी कर्मचारीहरूलाई कुलिङ पिरियड लगाउने प्रस्ताव गरिएको छ । सरकारी सेवाबाट निवृत्त भएको २ वर्षसम्म पार्टी सदस्य नबनाउने गरी विधानमा संशोधन गर्न प्रस्ताव आएको प्रवक्ता झाले जानकारी दिए ।
‘हिजो समयाभावका कारणले यो विषयमा छलफल गर्न भ्याइएन । अर्को बैठकमा थप छलफल गरेर विधान संशोधन हुन्छ,’ उनले भने ।
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीशलगायत उच्चपदस्थ सम्मानित व्यक्तित्वहरूलाई पार्टीमा नभित्र्याउने समेत प्रस्ताव गरिएको छ ।
नेपाल प्रेस








