काठमाडौँ । सरकारले एकैपटक ७२ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार उक्त संख्यामा सहसचिवहरूको सरुवा गरको हो ।
मन्त्रिपरिषद्को निर्णयअनुसार साउन २६ मा राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) वा सो सरहका ७२ जना उच्चपदस्थ कर्मचारीहरूको सरुवा तथा पदस्थापन गरिएको हो ।
यो सरुवामार्फत विभिन्न मन्त्रालय, संवैधानिक निकाय, प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको जिम्मेवारी हेरफेर भएको छ ।
प्रमुख महानगरपालिकाहरूमा नयाँ नेतृत्व
निर्णयअनुसार, देशका दुई महत्त्वपूर्ण महानगरपालिकाहरूले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाएका छन्। लोक सेवा आयोगमा कार्यरत मुक्ति राम अर्याललाई पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव योगेन्द्र प्रसाद दुलाललाई विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा पठाइएको छ ।
प्रदेश सचिवहरूको व्यापक हेरफेर
सरुवाले प्रदेश तहको प्रशासनिक नेतृत्वमा पनि उल्लेख्य परिवर्तन गरेको छ । जिल्ला प्रशासन कार्यालय, ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकाललाई गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश सचिवको जिम्मेवारी दिइएको छ ।
यसैगरी, विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवहरूलाई मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा प्रदेश सचिवका रूपमा पठाइएको छ ।
महत्त्वपूर्ण मन्त्रालय र निकायमा सरुवा
गृह, अर्थ, सङ्घीय मामिला तथा सामान्य प्रशासन जस्ता महत्त्वपूर्ण मन्त्रालयहरूमा पनि नयाँ सहसचिवहरूले जिम्मेवारी पाएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत सहसचिवहरूको सरुवा भएको छ ।
जिल्ला प्रशासन कार्यालय, भक्तपुरका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ ।








