विषाक्त मदिरा सेवनका कारण कुवेतमा ९ जना नेपालीको मृत्यु, ३० भन्दा बढी बिरामी

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौँ । खाडी मुलुक कुवेतमा तीन दिनको अवधिमा ९ जना नेपालीको मृत्यु भएको छ । विषाक्त मदिरा सेवनका कारण तीन दिनको अवधिमा ९ जनाको मृत्यु भएको नेपाली दूतावास कुवेतका श्रम सहकारी गिरीप्रसाद आचार्यले शुक्रबार जानकारी दिए ।
उनका अनुसार ३० भन्दा बढी नेपाली कामदार बिरामी रहेको र उनीहरूको कुवेतका विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी प्राप्त भएको छ । यसबारेमा कुवेत सरकारले दूतावासलाई प्रारम्भिक जानकारी उपलब्ध गराइसकेको बताउँदै उनले विस्तृत विवरण लिने क्रममा रहेको बताए ।
उनका अनुसार कुवेतमा मदिरा प्रतिबन्ध रहेको छ । तर लुकीछिपी बेचबिखन हुने र सोही मदिरा किनेर सेवन गर्दा ठुलो सङ्ख्यामा नेपाली प्रभावित भएका हुन् ।
‘हामी निरन्तर कुवेतका अधिकारीहरूसँग सम्पर्कमा छौँ । हामी थप विवरण लिने क्रममा अहिले छौँ’, उनले भने । सबै प्रक्रिया पूरा भएपछि मृतकहरूको शव नेपाल पठाउन दूतावासले आवश्यक सहजीकरण गर्ने उनले बताए ।
कुवेतमा हाल १ लाख ३० हजार नेपाली कार्यरत रहेको बताइएको छ ।
-रातोपाटी_

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?