विराटनगर । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-२ का वडाध्यक्ष टेकेन्द्र सेन्देङ्गमाथि कुटपिट भएको छ । एमाले जिल्ला कमिटी सदस्यसमेत रहेको सेन्दाङ्माथि जिल्ला कमिटीको बैठकबाट घर फर्कने क्रममा सदरमुकाम नजिकैको तक्मेडाँडामा हातपात गरिएको हो ।
७ जना जतिको समूहको आक्रमणबाट घाइते वडाध्यक्ष सेन्दाङ्गलाई ताप्लेजुङ अस्पतालबाट रेफर गरेर थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ । उनीसँगै मोटरसाइकलमा रहेका जिल्ला कमिटी सदस्य मनकुमार लिम्बू जिल्लामै उपचार गरेर घर फर्किएका छन् ।
घटनामा संलग्न आरोपमा प्रहरीले केहीलाई पक्राउ गरेपनि नाम खुलाइएको छैन । एमाले पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्वोले घटनामा संलग्नहरूको किटानी उजुरी दिने तयारी भइरहेको बताए । उनले कुटपिटमा संलग्नहरुका पहिचान भइसकेकाले बताए ।
यसैबीच ताप्लेजुङका प्रतिनिधिसभा सदस्य समेत रहेका एमाले नेता योगेश भट्टराईले घटनामा संलग्नलाई कारबाहीको माग गरेका छन् । गृहमन्त्री रमेश लेखकलाई लिखित पत्र लेख्दै भट्टराईले सर्वसाधारणको शान्ति सुरक्षाको प्रबन्ध मिलाउन आग्रह गरेका छन् ।
नेकपा एमालेले पनि पत्रकार सम्मेलन गर्दै कुटपिटमा संलग्नलाई कारबाहीको माग राखेको छ ।
मन्त्री हाङ्गामका समर्थकले कुटेको आरोप
वडाध्यक्ष सेन्दाङ्गलाई कोशी प्रदेश सरकारका उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गामका समर्थकहरूले कुटपिट गरेको आरोप लागेको छ । घटनामा संलग्नहरू उनका निकट र समर्थकहरू रहेको भन्दै किटानी जाहेरीको तयारी भएको छ ।
नेकपा एमाले ताप्लेजुका एक नेताले २०७९ को संघ र प्रदेशको निर्वाचनमा भएको विवादका विषयमा कोशी प्रदेश सरकार उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गामका समर्थकहरूले अहिले रिस फेरेको जिकिर गरे ।
सङ्घ र प्रदेश सभाको निर्वाचनका दिन आठराई त्रिवेणी गाउँपालिका वडा नम्बर २ पुगेका प्रदेशका उम्मेदवार हाङ्गामको समूह र सेन्दाङ्गको समूहबीच झडप भएको थियो । झडपका क्रममा हाङ्गाम समूहका युवाहरू घाइते भएका थिए । सो विषयमा लामो समयदेखि खगेनसिंह हाङ्गाम सँग विभिन्न चरणमा वार्ता समेत भएको थियो । मन्त्री हाङ्गामले कुटेको विषय कुटाइबाटै मिलान हुने बताउँदै आएको ती नेताले बताए ।








