बन्दीपुरमा विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम सम्पन्न, गाउँपालिकाका उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मान

सर्वज्योति
  • ख-
  • ख+

बन्दीपुर तनहुँ, २३ कार्तिक । बन्दीपुर गाउँपालिकाले उत्कृष्ट शिक्षक तथा विद्यार्थी सम्मान सहित विद्यार्थीहरूको प्रतिभा पहिचान कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरेको छ। गाउँपालिकाले यही कार्तिक २३ गते आइतबार एक कार्यक्रमको आयोजना गरेर उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरूलाई नगद, ट्रफी र प्रमाणपत्रसहित सम्मान गरिएको हो। प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत नृत्य प्रस्तुत गरेका १०वटा विद्यालय मध्ये विद्यालयतर्फ प्रथम पुरस्कार नगद रु. २०,०००, ट्रफी र प्रमाणपत्रसहित पवित्र माध्यमिक विद्यालयले प्राप्त गरेको छ।

त्यस्तै, द्वितीय पुरस्कार स्वरूप रु. १७,०००, ट्रफी र प्रमाणपत्रसहित मनास्लु बोर्डिङ स्कुल हुन सफल भएको छ। तृतीय पुरस्कारको रूपमा नगद रु. १३,०००, ट्रफी र प्रमाणपत्रसहित भानु माध्यमिक विद्यालयलाई र सान्त्वना पुरस्कारका रूपमा नगद रु. ५,००० र प्रमाणपत्रसहित कालिका माध्यमिक विद्यालयलाई प्रदान गरिएको छ।

कार्यक्रममा आधारभूत तह (कक्षा ८) अन्तर्गत सञ्चालन गरिएको परीक्षामा सामुदायिक विद्यालयतर्फ गाउँपालिका प्रथम कालिका माध्यमिक विद्यालयका सन्देश थापा र सामुदायिक विद्यालयको छात्रातर्फ प्रथम अरुण माध्यमिक विद्यालयकी इन्दु गुरुङ घोषित भएका छन्। त्यस्तै, माध्यमिक शिक्षा परीक्षा (एसईई) अनुसार आठ जना विद्यार्थीहरूलाई सम्मान गरिएको छ। तीमध्ये पवित्र माध्यमिक विद्यालयकी आयुषा श्रेष्ठ, ईसा नैनाबस्ती, लोकेश गुरुङ, मनिला लामा, रेजिना थापा, सभ्यता बिक, भानु माध्यमिक विद्यालयकी सलिना गुरुङ र विष्णु माध्यमिक विद्यालयका दिलिप भण्डारी क्षेत्री रहेका छन्।
यसैगरी, विषयगत उत्कृष्ट शिक्षकहरूको सम्मान पनि गरिएको छ। आधारभूत तह र माध्यमिक तह गरी जम्मा १७ जना शिक्षकहरूलाई नगद पुरस्कार र प्रमाणपत्रसहित सम्मान गरिएको हो। आधारभूत तह (कक्षा ८ सम्म) अन्तर्गत नेपाली विषयमा सेतीगंगा आधारभूत विद्यालयकी दमयन्ती बोहरा, अरुण माध्यमिक विद्यालयका लालु गुरुङ, चन्द्रोदय आधारभूत विद्यालयकी सबिना पण्डित र जगदीश्वर आधारभूत विद्यालयका रामविलास पोख्रेल सम्मानित भएका छन्। अङ्ग्रेजी विषयमा सेतीगंगा आधारभूत विद्यालयका युवराज सेन ठकुरी र अरुण माध्यमिक विद्यालयका रेशम थापा, गणितमा सेतीगंगा आधारभूत विद्यालयका सरोज यादव, विज्ञानमा सेतीगंगा आधारभूत विद्यालयका पवनकुमार श्रेष्ठ, अरुण माध्यमिक विद्यालयका रामकुमार श्रेष्ठ, कालिका माध्यमिक विद्यालयकी प्रतिमा अधिकारी, र सामाजिक विषयमा कालिका माध्यमिक विद्यालयका वीरेन्द्र केसीले पुरस्कार प्राप्त गरेका छन्।
माध्यमिक तह (एसईई स्तर) अन्तर्गत नेपाली विषयमा अरुण माध्यमिक विद्यालयका लालु गुरुङ र कालिका माध्यमिक विद्यालयकी प्रमिला गुरुङ, सामाजिक विषयमा कालिका माध्यमिक विद्यालयका भोलानाथ भट्टराई, शिक्षा विषयमा विष्णु माध्यमिक विद्यालयका बाबुराम रानाभाट र कालिका माध्यमिक विद्यालयका मानबहादुर ओली, तथा गणित विषयमा पवित्र माध्यमिक विद्यालयका विजय आचार्य सम्मानित भएका छन्।
कार्यक्रममा बन्दीपुर गाउँपालिकाका वडा नं. ३ का वडाध्यक्ष परमेश्वर भट्टराई, उपाध्यक्ष पञ्चमाया गुरुङ, र अध्यक्ष सुरेन्द्र बहादुर थापाले आ-आफ्ना भनाइ व्यक्त गर्दै गाउँपालिकाले गुणस्तरीय शिक्षाको प्रवर्द्धनका लागि निरन्तर क्रियाशील रहने प्रतिवद्धता जनाएका थिए। कार्यक्रममा गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख भीम लामिछानेले कार्यक्रम सञ्चालन गरेका थिए। गाउँपालिकाभित्रका १० वटा विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

तस्विर: सागर गिरि

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्