स्मार्ट बोर्ड वितरण गर्ने इन्जिनियर न्यौपानेको काम शिक्षक–विद्यार्थीद्वारा प्रशंसित

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँका ग्रामीण भेगका विद्यालयमा शैक्षिक सामग्रीसहित स्मार्ट बोर्ड वितरण गर्दै आएका इन्जिनियर श्रीराम न्यौपानेको सामाजिक पहल शिक्षक तथा विद्यार्थीबीच व्यापक प्रशंसा पाएको छ। ऊर्जा तथा जलस्रोत विज्ञका रूपमा परिचित न्यौपानेले लामो समयदेखि शिक्षा क्षेत्रमा आबद्ध हुँदै आएका छन्। हालै कक्षा १० का विद्यार्थीको शैक्षिक उन्नतिमा सहयोग पु-याउने उद्देश्यले उनले विभिन्न विद्यालयमा स्मार्ट बोर्ड जडान गरिदिएपछि विद्यालय समुदाय अत्यन्तै उत्साहित बनेका छन्। शिक्षकहरूले न्यौपानेको व्यक्तित्व, सामाजिक उत्तरदायित्व र सहयोगी भूमिकाको खुलेर प्रशंसा गर्दै उनका यस्ता कामबाट अन्य व्यक्तिहरू पनि प्रेरित हुने विश्वास व्यक्त गरेका छन्। उनीहरूका अनुसार प्रविधिमैत्री कक्षा सञ्चालनसँगै शिक्षाक्षेत्रले तनहुँमा नयाँ उचाइ लिने अपेक्षा गरिएको छ। स्मार्ट बोर्ड जडान कार्यक्रममा इन्जिनियर न्यौपानेले अझै अन्य विद्यालयमा पनि यस्तो प्रविधि पुर्याउने प्रतिबद्धता व्यक्त गरे। साथै स्मार्ट बोर्ड जडान गरिएका कक्षाकोठामा सिसीटिभी क्यामेरा राख्ने सहयोग पनि गर्दै जाने घोषणा उनले कार्यक्रममै गरे। उनको सक्रियतामा हालसम्म तनहुँका विभिन्न पालिकाका छ वटा विद्यालयमा स्मार्ट बोर्ड जडान गरिएको छ। स्मार्ट बोर्डसँगै काठमाडौँका प्रतिष्ठित विद्यालय—एलआरआई तथा बृहस्पति सदनका कक्षाकोठामा सञ्चालित अध्ययन प्रत्यक्ष अवलोकन गर्न मिल्ने प्रविधि पनि उपलब्ध गराइएको छ, जसले ग्रामीण भेगका विद्यार्थीलाई गुणस्तरीय शिक्षासँग जोड्ने अवसर प्रदान गरेको छ। न्यौपानेद्वारा स्मार्ट बोर्ड तथा एक वर्षका शैक्षिक सामग्री हस्तान्तरण गरिएका विद्यालयहरूमा व्यास नगरपालिका–६ को जनजुक्त शाही माध्यमिक विद्यालय, शुक्लागण्डकी नगरपालिका–४ को पञ्चमुनी देव माध्यमिक विद्यालय, भिमाद नगरपालिका–१ को श्री सिद्धार्थ माध्यमिक विद्यालय, ऋषिगंगा–८ को श्री शिव–सरस्वती माध्यमिक विद्यालय, घिरिङ गाउँपालिकास्थित श्री सरस्वती माध्यमिक विद्यालय, म्याग्दे–४ को मिन माध्यमिक विद्यालय समेत रहेका छन्। स्थानीय शिक्षक तथा विद्यार्थीहरूले ग्रामीण क्षेत्रमै प्रविधियुक्त कक्षा सञ्चालन हुन थालेपछि शिक्षाको गुणस्तरमा उल्लेखनीय सुधार आउने विश्वास गरेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?