तनहुँ । तनहुँ क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य ई. श्रीराम न्यौपानेले जनताका वास्तविक आवश्यकता बुझ्ने उद्देश्यसहित “सांसद–जनसम्वाद कार्यक्रम” मार्फत घरदैलो अभियानलाई तीव्रता दिएका छन्।
घिरिङ गाउँपालिकामा आयोजित उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, नागरिक समाज तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूबाट संकलन गरिएका विकास निर्माणसम्बन्धी योजनाहरूलाई प्रोजेक्ट बैंक का रूपमा व्यवस्थित गरी सम्बन्धित निकायसँग समन्वय गर्दै कार्यान्वयनका लागि आफू सक्रिय रहने सांसद न्यौपानेले जानकारी दिए।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब विकास योजनामा पुराना राजनीतिक शैली अन्त्य गर्ने स्पष्ट सन्देश दिएका छन्।
“अब यो तेरो मान्छे, यो मेरो मान्छे भन्ने राजनीति होइन, जनताबाट आएका योजना आवश्यकता र महत्वका आधारमा छनोट गरी विकास निर्माण अघि बढाइनेछ,” उनले बताए।
सांसद–जनसम्वाद कार्यक्रमले जनप्रतिनिधि र जनताबीचको दूरी घटाउने विश्वास व्यक्त गर्दै सहभागीहरूले यस्तो कार्यक्रम निकै प्रभावकारी भएको प्रतिक्रिया दिएका छन्। जनताले आफ्ना समस्या, सुझाव, गुनासा तथा विकासका प्राथमिकताहरू प्रत्यक्ष रूपमा सांसदसमक्ष राख्न पाएकोमा स्थानीयवासी उत्साहित देखिएका थिए।
यस कार्यक्रममार्फत सांसद स्वयं जनताको बीचमा पुगेर विकासका वास्तविक आवश्यकताहरू बुझ्न, योजनाहरूमा समन्वय गर्न तथा कार्यान्वयन प्रक्रिया सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सांसद न्यौपानेले आगामी दिनमा हरेक तीन महिनामा आफ्नो निर्वाचन क्षेत्रभित्रका सबै पालिकामा सांसद–जनसम्वाद कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेका छन्।








