निषेधाज्ञा उल्लंघनको आरोपमा ३ जनालाई १ महिना जेल

  • ख-
  • ख+

बुटवल । निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले रुपन्देहीमा तीन जनालाई एक महिनाका लागि कारागार चलान गरेको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको भन्दै प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएकोमा प्रतिव्यक्ति नौ हजार एक सय रुपैयाँ जरिवाना तिर्न नसकेका तीनजना कारागार चलान गरिएको हो ।
कारागार चलान हुनुभएकाहरुमा रुपन्देहीको मायादेवी गाउँपालिका–४का २७ वर्षीय दिनेश यादव, सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीय श्याम दुबे र मायादेवी–२ का ३४ वर्षीय महेन्द्र कोहार रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताउनुभयो । ‘निषेधाज्ञा उल्लंघन गरेको भेटिएपछि सम्झाई बुझाई गर्दा प्रहरी टोलीलाई ड्युटीमा बाधा अबरोध पुर्‍याएको हुँदा नियन्त्रणमा लिई संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम कारवाही गरिएको हो,’ डीएसपी थापाले भन्नुभयो ।

‘नियन्त्रणमा लिइएका ७ जना पुरुष र एक महिलामध्ये पाँचजना पुरुषले भने नौ हजार एक सय र एक महिलाले ६ सय रुपैयाँ जरिवाना तिरेर छुटे, जरिवाना तिर्न नसक्ने तीनजना एक महिना थुनामा गए,’ वहाँले भननुभयो ।

प्रशासनको आलोचना

मानव अधिकार तथा शान्ति समाजका सभापति गोविन्द खनालले जरिवाना तिर्न नसकेका सर्वसाधारणलाई एक महिना थुनामा राख्नु प्रशासनको ज्यादती भएको बताउनुभयो ।

‘निषेधाज्ञाको पालना गराउनु जायज हो, तर सर्वसाधारण नागरिकको अवस्था ख्याल नगरी त्यसरी एक महिना जेल पठाउनु गलत हो,’ खनालले भन्नुभयो, ‘कानून पालना गराउने नाममा गरीब र विपन्न नागरिकमाथि अन्याय र ज्यादती गरिनु हुँदैन ।’

प्रहरीले निषेधाज्ञाको अवज्ञा गरेको भन्दै पहिलो दिन १ हजार २० वटा सवारी साधन होल्डमा राखेर छाडेको छ । जसमध्ये ५० वटा सार्वजनिक सवारी साधन, १० वटा निजी सवारी साधन, १८० वटा मालवाहक सवारी साधन, ७१० वटा मोटरसाइकल, ७० वटा साइकल र २०० जना प्रदलयात्रीलाई होल्डमा राखेर छाडिएको डीएसपी थापाले बताउनुभयो ।

कोरोना संक्रमण नियन्त्रण गर्ने उद्देश्यले निषेधाज्ञा कडाइ गरिएकाले पालना गर्न जिल्ला प्रशासनले सबैसँग अपील गरेको छ ।(अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?