अक्सिजन अभावले टीकापुर अस्पतालमा दुई दिनमा १२ को मृत्यु

  • ख-
  • ख+

सिलिन्डर रिफिल गर्न लैजाँदा अक्सिजन लिइरहेका बिरामीलाई थप समस्या, एउटा बिरामीलाई निको हुँदासम्म सरदर ७ सिलिन्डर आवश्यक

टीकापुर — कैलालीको टीकापुर अस्पतालमा दुई दिनमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिरामीको चापअनुसार अक्सिजन उपलब्ध नहुँदा संक्रमितले ज्यान गुमाउनुपरेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।
अस्पतालका कोरोना फोकल पर्सन डा। रमेश उपाध्यायले सीमित सिलिन्डरका कारण बिरामीले अक्सिजन नपाउने अवस्था रहेको बताए । ‘सिलिन्डर रिफिल गर्न लैजाँदा अक्सिजन लिइरहेको बिरामीको बीचैमा ब्रेक हुने अवस्था छ,’ उनले भने, ‘अक्सिजनको ब्याकअप नहुँदा नियमित अक्सिजन नपाउने र बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था छ ।’
उनका अनुसार एउटा बिरामीलाई निको हुँदासम्म सरदर ७ सिलिन्डर अक्सिजन आवश्यकता पर्छ । सिलिन्डरको अभावसँगै रिफिल गर्न नेपालगन्ज जानुपर्ने बाध्यताले थप समस्या निम्तिएको हो ।

संक्रमित बिरामी गम्भीर भएपछि मात्र अस्पताल आउने गरेकाले समस्या भइरहेको चिकित्सकहरू बताउँछन् । ‘सुरुमा ज्वरो आउने अनि हराउने हुन्छ । खोकी लाग्छ, छातीमा समस्या हुन्छ,’ डा। उपाध्यायले भने, ‘सुरुमै ज्वरो आउँदा बिरामीले वास्ता गर्दैनन् । आठ दिनपछि छाती खराब भइसकेपछि अस्पताल आउँछन् । अवस्था जटिल भइसकेको हुन्छ ।’

टीकापुर अस्पतालमा दिनमा १० जनाजति गम्भीर अवस्थाका संक्रमित आउने गरेका छन् । सबैजसो बिरामीलाई अक्सिजनको आवश्यकता परेको छ । अस्पतालमा संक्रमितको उपचारका लागि १५ शय्या भए पनि करिब ४५ जना उपचाररत रहेको अस्पताल प्रशासनले जनाएको छ । शय्या नहुँदा बिरामीको बरन्डामै उपचार भइरहेको छ । अस्पताल प्रमुख डा। रेमकुमार राईले हाललाई अक्सिजनको व्यवस्था भइदिए भुइँमै राखेर पनि उपचार गर्न सकिने बताए । ‘अक्सिजन नभएपछि बिरामीको अवस्था टुलुटुलु हेर्नेबाहेक विकल्प हुन्न,’ उनले भने ।
यसैबीच, अक्सिजन अभावमा बिरामीको मृत्यु बढेपछि टीकापुरमा अक्सिजन अभियान सञ्चालन गरिएको छ । टीकापुर सरोकार समूह, उद्योग वाणिज्य संघ, टीकापुर अस्पतालको संयुक्त प्रयासमा अभियान सुरु गरिएको हो ।

अस्पतालमा अक्सिजन सिलिन्डर व्यवस्था गर्ने अभियानअन्तर्गत करिब १० लाख रुपैयाँ संकलन भइसकेको टीकापुर सरोकार समूहले जनाएको छ । अभियानमा स्वस्फूर्त रूपमा सहयोग गर्नेहरूको संख्या बढ्दै गएको छ । इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख रामबहादुर कुरुम्बाङको प्रयासमा ७० वटा अक्सिजन सिलिन्डर प्राप्त भएको अस्पतालले जनाएको छ ।(कान्तिपुर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्