निजी अस्पताललाई १५ दिनभित्र प्लान्ट जडान गर्न निर्देशन

  • ख-
  • ख+

(५ सय सैयाको अस्पतालमा पनि छैन प्लान्ट)


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएको छ । अक्सिजन दिनुपर्ने संक्रमितको संख्या बढेपछि मन्त्रालयले बुधबार सयभन्दा बढी बेड भएका निजी र सामुदायिक अस्पताललाई तत्काल प्लान्ट जडान गर्न निर्देशन दिएको हो ।

अस्पतालले प्लान्ट जडान गरेर त्यसको जानकारी मन्त्रालयलाई गराउनुपर्नेछ । प्लान्ट जडान गर्न मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले समन्वय गर्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

५ सयभन्दा बढी बेड भएका मेडिकल कलेजमा समेत अक्सिजन प्लान्ट छैन । तिनीहरू अक्सिजन सिलिन्डरकै भरमा छन् । पर्याप्त अक्सिजन नभएकै कारण निजी अस्पतालले गम्भीर प्रकृतिका कोरोना संक्रमित नलिने सूचना नै जारी गरेका छन् । सरकारले अक्सिजन दिन नसक्दा बिरामी भर्ना गर्न नसकिएको एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) का वरिष्ठ उपाध्यक्ष कुमार थापाले बताउनुभयो ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले अक्सिजनको समस्या व्यवस्थापन हुन अझै ४ दिन लाग्ने बताउनुभयो । ‘अहिले उत्पादन नै कम छ । सिलिन्डर कम छ । जहाँ धेरै बिरामी छन्, त्यहाँ धेरै अक्सिजन र जहाँ बिरामी कम छन्, त्यहाँ थोरै वितरण गर्ने हो,’ उहाँले भन्नुभयो, ‘निजी अस्पतालले जति अक्सिजन पुग्छ, त्यति बिरामी लिने हो । निजी अस्पतालले पनि अक्सिजनको प्लान्ट वा ट्यांक राख्नुपर्छ । अर्काले उत्पादन गरेको अक्सिजन ल्याएर झारा टार्ने गरी काम मात्र चलाएर भएन नि ।’

अफिनका उपाध्यक्ष थापाले सरकारले तोकेको समयसीमाभित्र अक्सिजन प्लान्ट राख्न सम्भव नभएको थापाले बताए । ‘सरकार आफैंले अक्सिजन व्यवस्था गर्न नसकेपछि हामीलाई दोष थोपर्न प्लान्ट राख्नलाई १५ दिन समय दिएको छ,’ उहाँले भन्नुभयो , ‘भारतमा कोरोना संक्रमण बढिरहेको छ । प्लान्टको सामान ल्याउने त्यहींबाट हो । अन्यत्रबाट ल्याउन अन्तर्राष्ट्रिय उडान बन्द छ । सरकारले नसकेको काम हामीले सक्छौं ?’ सय बेडका लागि आवश्यक पर्ने प्लान्ट जडान गर्न कम्तीमा १ करोड ३० लाखभन्दा बढी रकम जोहो गर्न पनि समस्या पर्ने उहाँले बताउनुभयो  ।

‘संकटका बेला काम गर्ने कर्मचारीलाई तलब खुवाउन त समस्या छ भने यो बेला प्लान्ट जडान गर्न त्यतिका रकम जोहो गर्न सम्भव पनि छैन,’ उहाँले भन्नुभयो, ‘अस्पताल स्वीकृत दिँदा नै प्लान्ट अनिवार्य राख्नुपर्ने मापदण्ड भइदिएको भए यो समस्या नै पर्दैनथ्यो ।’ अस्पताल सञ्चालनसम्बन्धी मापदण्डमा स्वीकृति दिँदा प्लान्ट जडान गर्नुपर्ने प्रावधान छैन । सरकारले सरकारी अस्पतालमा १५ दिनभित्र अक्सिजन प्लान्ट र ट्यांक ल्याउने भएकाले निजी अस्पतालले पनि ल्याउनुपर्ने बाध्यकारी निर्णय गरिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताउनुभयो ।

‘आफ्नो व्यवस्थापन नगर्ने, गर्ने चाहना नराख्ने ? ठूलो अस्पताल खोल्दा २, ४ वटा प्लान्ट नराख्ने ? प्रसूति गृह, कान्ति बाल अस्पताल, गंगालाल, टेकु अस्पतालले अक्सिजन प्लान्ट राख्न सक्ने, ट्रमा सेन्टरले राख्न सक्ने तर उहाँहरूले राख्न नसक्ने ? उहाँहरू अहिलेसम्म के गरिरहनुभएको थियो ? ’ उनले भने । उनले निजी अस्पतालले जतिसक्दो छिटो अक्सिजन प्लान्टको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो। ‘बरु त्यसका लागि सरकारले के गर्नुपर्छ ? त्यसमा सरकार सकारात्मक छ,’ उहाँले भन्नुभयो ।(कान्तिपुर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?