मदिरा सेवन गरी नदि तर्न खोज्ने रेञ्जर बटालियनका कमाण्डरको गयो ज्यान

  • ख-
  • ख+

आफन्त भन्छन्ः घटना शंकास्पद छ, शव स्वीकार्दैनौं

चितवन राष्ट्रिय निकुञ्जभित्र कार्यरत नेपाली सेनाका हबल्दारको राप्ती नदीमा डुबेर मृत्यु भएको छ।

निकुञ्जभित्र सञ्चालन हुने अपरेसन महाहन्टका लागि खटिएको रेञ्जर बटालियनका पोष्ट कमाण्डरको मृत्यु भएको सेनाले जनाएको छ।

चितवन निकुञ्जको सुरक्षार्थ अहिले खड्गदल गण खटिएको छ। रेञ्जर बटालियन भने निकुञ्जको सुरक्षार्थ बनेको विशेष बटालियन हो।

यो बटालियनको टोली विभिन्न स्थानमा बनाइएका पोष्टहरूमा पाँच(पाँच जना बस्ने गर्छन्। जंगलभित्र जस्तोसुकै अवस्थामा पनि रहनसक्ने गरी तयार पारिएको यो विशेष फौज लड्नकै लागि तयार पारिएको हो।

गत पुसदेखि सुरू भएको अपरेसन महाहन्ट यही जेठमा सकिँदै थियो।

महाहन्ट सकिँदै गर्दा गत सोमबार रमाइलो गर्नेक्रममा दुर्घटना भएको सेनाले जनाएको छ।

पोस्टमा मदिरा सेवन गरेपछि थप मदिरा किन्नका लागि उक्त टोलीका तीन जना डुंगामा राप्ती नदी तरेर मेघौली नजिकै गोलाघाट पुगेका थिए।

तर फर्कने बेलामा राति ८ बजेतिर दुई जना डुंगामै फर्किए पनि पोस्टका कमाण्डर रहेका हबल्दार गगन शाही भने हिँडेरै तरेका थिए। तर पौडिएका हबल्दार पोस्टमा नपुगेपछि खोजी गर्दा मंगलबार बिहान मृत भेटिएको सेनाले जनाएको छ।

मृतकको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ।

मृतकका परिवार तथा आफन्तले भने उक्त घटनालाई शंकास्पद भनेका छन्।

शवको प्रकृति हेर्दा सोमबार रातिको घटनाको जस्तो नदेखिएको दाबी उनीहरूको छ।

‘शव असाध्यै गन्हाएको, मान्छे नचिनिने पुरानो घटनाको जस्तो देखिन्छ तर सेनाले तिमीहरूकै आफन्त हो शव बुझ भनिरहेको छ,’ मृतकका आफन्त लालबहादुर चन्दले भने, ‘हामीलाई घटनाप्रति शंका छ।’

उनले यस घटनाको अनुसन्धान गरी सत्यतथ्य बाहिर आउनुपर्ने माग गरे।

‘हामी एक पटक आफैं घटनास्थल पुगेर हेर्न चाहन्छौं, अनि डुंगामा सँगै जाने सैनिक जवानहरूसँग घटनाबारे सोध्न चाहन्छौं,’ उनी भन्छन्, ‘हामीलाई अहिले उनीहरूले दिएजस्तो घटना विवरणप्रति विश्वास छैन। विश्वास नहुँदासम्म शव स्वीकार गर्न सकिन्न।’

हबल्दार गगन शाहीसहितको टोली निकुञ्जको लामीताल नजिकै रहेको पोस्टमा कार्यरत थियो।

३३ वर्षका शाही १६ वर्षदेखि सेनामा कार्यरत थिए। दैलेख जिल्ला घर भएका उनको मृत्युबारे परिवारले मंगलबार दिउँसो जानकारी पाएको थियो।

घटनाको जानकारी पाएपछि दैलेखमा रहेका परिवार तथा आफन्त बुधबार बिहानमात्रै भरतपुर आइपुगेका हुन्।

मृतकका आफन्त चन्दले निकुञ्जभित्रका सेनाका सुबेदार मेजर रिमबहादुर घर्तीमगरसँग कुरा गर्दा मदिरा सेवनपछि नदी तर्नेक्रममा मृत्यु भएको जानकारी गराएको बताए।

राति हराएका कमाण्डरको खोजी बिहानमात्रै गर्नु नै शंकास्पद रहेको उनले बताए।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले गणका कर्णेलले आफूलाई पनि सोमबार राति नदी तर्नेक्रममा हराएका हबल्दार मंगलबार मृत भेटिएको जानकारी गराएको बताए।

‘यसबाहेक मलाई केही पनि जानकारी छैन। उहाँहरूले जे जानकारी गरायो त्यही थाहा हुने हो,’ उनले भने।

यस विषयमा जानकारी लिन खोज्दा खड्गदल गणका कर्णेल सुधिर केसी सम्पर्कमा आएनन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले मृतकका आफन्तहरूले शवलाई हेरेर आशंका गरेको बताए।

‘तर गर्मीका कारण शव उस्तै अवस्थामा रहिरहन नसकेको हो। शव गृहमा स्तरीय फ्रिज नहुँदा शवलाई उस्तै हालतमा राख्न नसकिएको हो,’ उनले भने, ‘शव फेला पर्ने बितिक्कै प्रहरीको टोली पुगेर मुचल्का उठाएको हो। त्यतिखेर अनुहार स्पष्ट चिनिने थियो। चोटपटक केही थिएन।’

कमाण्डर फेला नपरेपछि अन्यले राति नै खोजी गर्दा पनि नभेटिएको र बिहानमात्रै शव भेटिएको जानकारी आफूले पाएको उनले बताए।(सेतोपाटीबाट)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?