काठमाण्डौ । चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ ।
बुधबार नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप दिने घोषणा गर्नुभएको हो ।
दुई राष्ट्रपतिबीचको टेलिफोन संवादपछि नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले चीनले नेपाललाई अनुदानमा खोप दिएको घोषणा गर्नुभएको हो ।
यसअघि चीनले नेपाललाई ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो ।
बुधबार टेलिफोन कुराकानीमा राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग नेपाललाई आवश्यक कोरोना भाइरसविरुद्धको खोप खरिदमा सहजीकरण गरिदिन अनुरोध गर्नुभएको थियो ।
बुधबार दुई राष्ट्रपतिबीच भएको कुराकानीमा राष्ट्रपति भण्डारीले कोभिड १९ बाट नेपाली जनताको जीवन रक्षा गर्नु नेपाल सरकारको पहिलो दायित्व रहेको भन्दै आवश्यक खोप चीनबा६ खरिद गर्न इच्छुक रहेको बताउनुभएको थियो । उहाँले यस प्रक्रियामा सहजीकरण गरिदिन राष्ट्रपति सीलाई आग्रह गर्नुभएको थियो ।
जवाफमा चिनियाँ राष्ट्रपति सीले नेपाल चीनको अभिन्न मित्र रहेकाले नेपालले मागेको सहयोगबारे आफ्ना सरकारी अधिकारीहरुसँग बुझ्ने बताएका राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिनुभयो ।
‘यहाँको अनुरोधलाई मैले मनन गरेको छु, हामी नेपाललाई सहयोग गर्न सधैं तत्पर छौं’ कुराकानीमा क्रममा राष्ट्रपति सीले भन्नु्भएको थियो ।








