झापाको कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले प्रस्तावित कनकाई अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि व्यक्तिगत रुपमा १० लाख रूपैयाँ सहयोग दिनुभएको छ ।
आफूले पाउने पारिश्रमिकबाट पोखरेलले अक्सिजन प्लान्ट निर्माणका लागि सहयोग गर्नुभएको छ ।
१४ औं गणतन्त्र दिवसको अवसर पारेर शनिबार पोखरेलले कोरोनाका बिरामीका लागि पर्ने अक्सिजन प्लान्ट निर्माण योजनाका लागि रकम छुट्याउनुभएको हो ।
कनकाई नगर प्रमुखमा निर्वाचित भएपछि हालसम्मको आर्थिक सुविधाको सो रकम नगरपालिकाकी उप्रप्रमुख मन्जु प्रसाईंलाई शनिबार उनले हस्तान्तरण गरे। पोखरेलले एनआइसी एसिया बैंकको चेकबाट रकम प्रदान गर्नुभएको छ ।
कोभिडको माहामारीकै कारण सर्वसाधरणले अक्सिजनको अभावमा दिनहुँ ज्यान गुमाउन थालेपछि कनकाई नगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्न लागेको छ।
मेयर पोखरेलले करिब दुई करोडको लागत अनुमान गरिएको प्लान्ट तीन महिनाभित्र साबिकको प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गामा निर्माण भइसक्ने बताए। झापाका १५ स्थानीय तहमध्ये अक्सिजन प्लान्ट स्थापना गर्ने कनकाई नगर जिल्लामा पहिलो हो।
स्थापना हुन लागेको प्लान्टले दैनिक ५० सिलिण्डर अक्सिजन उत्पादन गर्नसक्ने उहाँले बताउनुभयो ।
‘कनकाई नगरमा अक्सिजन प्लान्ट निमार्णको निम्ति धेरै संघ संस्थाहरू तयार छन्,’ नगर प्रमुख पोखरेलले भन्नुभयो , ‘दाताबाट एक करोड संकलनको अपेक्षा गरेका छौं। बाँकी रकम नगरपालिकाले आयोजनाका लागि छुट्याइएको तर खर्च हुन नसकेका बजेटबाट थपिने छ।’
सबै एकजुट भएर हातेमालो गरेर अगाडि बढेमा प्रस्तावित कनकाई अस्पतालमा अक्सिजन प्लान्ट राख्ने योजना तोकिएकै समयमा सफल हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
अक्सिजन प्लान्ट निर्माण गर्नका लागि स्थानीय दाता, सामाजिक संघ(संस्थाले पनि प्रतिवद्धता जनाएका छन्।
नगर उपप्रमुख मन्जु प्रसाईंले कोरोनाको दोस्रो लहर सुरू भएयता नगरमा १ हजार २ सय १५ जनाको स्वाब संकलन गरिएको जानकारी दिनुभयो । त्यसमध्ये ३ सय ७४ संक्रमित हुनुभएको थियो ।
हालसम्म १ सय २९ जना निको भएर घर फर्किएका छन् भने २ सय २९ जना होम आइसोलेनमा रहेका जानकारी उहाँले दिनुभयो । (सेतोपाटी)








