अवैध रुपमा गिट्टी, वालुवा तस्करी विरुद्ध जागे तनहूँका युवाहरु

  • ख-
  • ख+

(२४ घण्टा भित्र माग सम्बोन्धन नभए सशक्त आन्दोलन गर्ने चेतावनी)

तनहूँ । आफ्नो गाउँघरतिर गिट्टी, वालुवाको अवैध उत्खन तथा तस्करी भईरहेपछि स्थानिय स्तरमा युवाहरु सक्रिय भएका छन् । तनहूँ जिल्लाको देवघाट गाउँपालिकामा पछिल्लो समय अवैध रुपमा गिट्टी, वालुवा उद्खनन् भएको साथै विभिन्न वेथिति विकृतिहरु बढेको भन्दै स्वतन्त्र युवाहरुको समूहले गाउँपालिका समक्ष १४ बुदे माग पत्र पेश गरेको छ। युवाहरुले आज गाउँपालिकाका उपाध्यक्ष बिमला थापा समक्ष मागपत्र पेश गरेको हो।

मागपत्र बुझाउदै स्वतन्त्र युवाहरुको समूहले माग सम्बोन्धन गर्न २४ घण्टाको अल्टिमेटम दिएको छ। माग पुरा नभएमा तत्काल सशक्त आन्दोलन गर्ने आन्दोलनरत युवा समूहका गणेश थापाले बताउनुभयो। पछिल्लो समय गाउँपालिकामा विकृति विसंगति वेथितिहरु बढ्दै गएकोले त्यस्ता कार्य रोक्नका लागि देवघाटका युवाहरु आन्दोलन गर्न बाध्य भएको उहाँले बताउनुभयो।
युवाहरुले पेश गरेको मागपत्रमा देवघाट गाउँपालिकाका मुख्य घाटहरुबाट अमानतमा जथाभावी नदीजन्य सामाग्रीहरुको उद्खनन् भैरहेकोले तत्काल रोकी आ इ इ प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, हाल उद्खनन् गरिरहेको ठेक्का सम्झौता र उत्खनन् गरेको परिमाणको सार्वजनिक गर्नुपर्ने माग रहेको छ।

यस्तै घाटको राजश्व मिनाहाको विवरण सार्वजनिक गर्नुपर्ने, गाउँपालिकाले जनप्रतिनिधी निर्वाचित भएको ४ वर्षसम्म पनि सार्वजनिक सुनुवाई नगरेको, कार्यपालिकाको बैठकको निर्णय सार्वजनिक गर्नुपर्ने लगायतका मागहरु राखेका छन्।

यसैबिच माग पत्र बुझ्दै भोली नै कार्यपालिका बैठक बस्ने र सोही बैठकले युवाहरुको मागलाई उचित सम्बोन्धन गरिने गाउँपालिकाका उपाध्यक्ष बिमला थापाले जानकारी दिनुभयो । (ईच्छाकामना न्युज)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?