पोखरा । राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश स्तरिय केन्द्रिय सदस्यहरुको भर्चुअल प्रथम बैठक शुक्रबार सम्पन्न भएको छ। राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशका संयोजक एवम् केन्द्रिय सचिव महेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न बैठकको प्रमुख अतिथि नेकपा एमालेका युवा इन्चार्ज एवम् केन्द्रिय सदस्य महेश बस्नेत रहनु भएको थियो। बैठकलाई मार्गनिर्देशन गर्नुहुँदै प्रमुख अतिथि बस्नेतले नेपालको कम्युनिस्ट आन्दोलन सिद्ध्याउने खालका केहि सिकारीहरु गहिरो ढंगले लागेकाले राष्ट्रिय युवा संघ नेपाल अब सशक्त रुपमा अगाडि बढ्नुपर्ने बेला आएको बताउनुभयो। कोभिड १९ को महामारी र असार १ गते देखि अविरल वर्षाका कारण देशका विभिन्न भूभागमा बाढी पहिरोले क्षती पुर्याएको हेलम्बु, मेलम्ची लगायतका ठाउँहरुमा युवा संघ नेपालले तत्काल राहत एवम् उद्दार कार्यमा जुटेकोमा धन्यवाद समेत दिनुभएको थियो। विपक्षी गठबन्धनको नाँउमा अदालतमा समेत सेटिङ्ग गर्ने र न्यायालयलाई नै अस्तव्यस्त पार्न खोजिएकोले यो बेला सबै चनाखो हुनुपर्ने बताउनु भयो। नेकपा एमाले एक ढिक्का भएर अगाडी बढ्ने तर्फ संकेत गर्दै अबको केहि दिनमा नै कार्यदलले सकारात्मक संदेश दिने जानकारी पनि दिनुभयो।कार्यक्रममा विशिष्ठ अतिथि राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेलले पार्टी र देशलाई जति बेला संकट पर्दछ, राष्ट्रिय युवा संघ नेपाल सँधै सारथीको रुपमा अग्रपंक्तिमा रहेर काम गर्ने बताउनुभयो। आगामी केहि दिनमै गण्डकी प्रदेश मा १ लाख वृक्षारोपण गरिने, १०० जना युवालाई तालिम सहित विपत्तिको बेला तत्काल उद्दारको लागि तयारी अवस्थामा राखिने संगठनलाई विस्तार गरि वार्ड तह सम्म पुर्याउने र सबै सदस्यहरुलाई विपत्तिको बेला आफ्नो ठाँउमा स्वस्फुर्त रुपमा उद्दार कार्यमा जुट्न तयारी अवस्थामा रहन समेत निर्देशन दिनुभएको थियो। अतिथिको रुपमा प्रथम उपाध्यक्ष एवम् गण्डकी प्रदेशका इन्चार्ज सन्तोष रावल र क्षितिज थेवेले आगामी रणनीति को बारेमा र महासचिव रमेश आचार्यले सांगठानिक विषयमा बोल्नुभएको थियो। साथै उपमहासचिव रामजी सापकोटाले कार्यालय व्यवस्थापनको विषयमा प्रष्ट पार्नुभएको थियो।
कार्यक्रमको संचालन अध्यक्षता गरिरहनु भएका गण्डकी प्रदेश संयोजन महेन्द्र गुरुङ ले गर्नुभएको थियो। गुरुङले केहि दिन अघि गण्डकी प्रदेश सरकारका मन्त्री दिपक मनाङेबाट आएको अभिव्यक्ति प्रति खेदजनक रहेको भन्दै आगामी दिनमा फेरी यस्ता कार्य दोहोरिएमा युवा संघ चुप लागेर नबस्ने चेतावनी समेत दिनुभएको थियो । साथै उक्त प्रथम बैठकबाट नै संघका स्थायी कमिटी सदस्य विकास अधिकारिलाई गण्डकी प्रदेशको कार्यालय व्यवस्थापनको लागि कार्यालय सचिवको रुपमा नियुक्त गरेको छ।








