जिल्ला प्रहरी कार्यालय तनहूँका प्रमुख तथा प्रहरी उपरिक्षक अरुण पौडेलले तनहूँबाट सरुवा पश्चात पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्नुभयो । उक्त अवसरमा उहाँले आफ्नो एकबर्षे जिल्ला बसाईका क्रममा भएका कार्य विवरणहरुको बारेमा जानकारी दिनुभएको थियो । उहाँले तनहूँ जिल्लामा शान्ति सुरक्षा कायम गराउने र अपराध नियन्त्रण गर्नेे क्रममा भएका कार्य प्रगतिहरु पेश गर्दै आफ्नो कार्यकालमा ३ सय ८१ फरार प्रतिवादी पक्राउ गरेको पक्राउ पर्नेमध्ये १ सय ५ जना महिला र २ सय ७६ पुरुष रहेको, पक्राउ परेकाबाट १ सय ८७ वर्ष एक महिना २२ दिन कैद असुल भएको छ । साथै फरार प्रतिवादीबाट रु ६६ लाख ३८ हजार पाँचसय ६१ जरीवाना असुल भएको पौडेलले बताउनुभएको थियो ।
उक्त आर्थिक वर्षमा ३ सय ६० मुद्दा दर्ता भएकामा जघन्य अपराधतर्फ कर्तव्य ज्यानमा ११, सवारी ज्यानमा ३१, जबरजस्ती करणीमा १७, लागुऔषधमा ३४, हातहतियारमा २ र आत्महत्या दुरुत्साहनमा ४ मुद्दा दर्ता भएको पनि उक्त पत्रकार भेटघाट कार्यक्रममा उहाँले जानकारी दिनुभयो ।
उहाँले उक्त अवसरमा अवैध काठतर्फ १२ जना पक्राउ परेका छन् भने ५ सय ८१ क्युफिट सालको काठ बरामद गरिएको , लागुऔषधतर्फ ५९ जना पक्राउ परेका छन् भने १३५ नाइट्रोजन ट्याब्लेट, ६६० एम्पुल डाइजेपाम, ३१ किलो ८६५ ग्राम गाँजा, ६५४ एम्पुल फेनरागन, ६५० एम्पुल नुफिन बरामद भएको, सोही अवधिमा ३५ रोपनीमा लगाईएको गाँजा नष्ट गरिएको, नदीजन्य पदार्थ उत्खनन्तर्फ २ सय ६६ सवारी नियन्त्रण गर्दा रु २२ लाख १० हजार पाँच सय राजश्व सङ्कलन भएको , जुवातासतर्फ ११ वटा मुद्दा दर्ता हुँदा १ सय २० जना पक्राउ परेका छन् भने १४ लाख ३७ हजार दुई सय २५ रुपैया बरामद भएको पनि पौडेलले जानकारी दिनुभयो । अन्य जिल्लाहरुको तुलनामा राजनीतिक दवाव कम आएको र कोभिड महामारीका कारण मास्क वितरण र पछिल्लो समय अक्सिजन सिलिण्डर संकलन अभियानले पनि प्रहरीलाई सर्वसाधाराण्सग अझै नजिक बनाएको उहाँको धारणा रहेको थियो ।
१ बर्षे कार्यकाल समाप्त गरि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा सरुवा हुनुभएका पौडेलको कार्यकालमा बिशेषत फरार अभियुक्तहरु पक्राउ अभियानलाई सर्वसाधारणहरुले निकै महत्व र उत्सुकताका साथ नियालेका थिए ।
उक्त पत्रकार भेटघाट कार्यक्रम जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी युवराज तिमल्सेनाले संचालन गर्नुभएको थियो ।








