सुन्दरबजार नगरपालिकाको भवन बन्दै

  • ख-
  • ख+

समिर जोशी । लमजुङको सुन्दरबजार नगरपालिका–६, ठाँटीचौरमा निर्माणाधीन सुन्दरबजार नगरपालिकाको प्रशासकीय भवनको ५९ प्रतिशत निर्माण कार्य सकिएको छ ।
नगरपालिकाको आफ्नै ७ रोपनी जग्गामा निर्माण भइरहेको नगरपालिकाको प्रशासकीय भवनको ‘फिनिसिङ’ र ‘प्लाष्टर’बाहेकका अन्य भौतिक संरचना निर्माणका कार्य लगभग सकिएको प्राविधिक शाखा, सुन्दरबजार नगरपालिकाका प्रमुख इन्जिनियर सन्दिप केसीले जानकारी दिनुभयो । भवन निर्माणको ५९ प्रतिशत काम सकिएको छ । फिनिसिङ र प्लाष्टरको काम बाँकी छ । अन्य सम्पूर्ण भौतिक संरचना निर्माणको कार्य लगभग सकिएको छ,’ इन्जिनियर केसीले भन्नुभयो ।
उहाँका अनुसार भवन निर्माणको कुल लागत ४ करोड ५६ लाख २९ हजार ३ सय ७ रुपैयाँ ८८ रुपैयाँ रहेको छ । १४ कोठे भवन निर्माणको जिम्मा गणेशकुण्ड आइएस निर्माण सेवा जेभीले पाएको हो ।
२०७६ साउन ८ गते संझौता गरी निर्माण कार्य सुरु गरेको निर्माण कम्पनीले संझौताअनुसार २०७७ माघ १० गते भवन निर्माण कार्य सक्नुपर्नेछ ।
भवन निर्माण कार्य धमाधम भएकाले निर्धारित समयमै भवन निर्माण कार्य सकिने इन्जिनियर केसीले बताउनुभयो ।
नवनिर्मित भवनमा प्रशासन, लेखा, राजश्व, प्राविधिक, शिक्षा लगायतका शाखा रहनेछन् । भवन निर्माण भएसंगै नागरिकलाई सेवा प्रदान गर्न थप सहज हुने नगरपालिकाले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्