खोलाले कार बगाउँदा दाङमा चार जनाको मृत्यु, चालक घाइते

  • ख-
  • ख+

दाङ । खोलाले कार बगाउँदा दाङमा चार जनाको मृत्यु भएको छ। चालक गम्भीर घाइते छन्।

घोराही उपमहानगरपालिका वडा नम्बर ४ स्थित सिस्ने खोलामा आएको बाढीले ३–०१–०२४ च ४४४० नम्बरको कार गए राति करिब १० बजेर ५० मिनेटमा बगाएको थियो।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार खोलाले कार बगाउँदा चार जना महिलाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते छन्।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले खोलाले कार बगाउँदा घोराही उपमहानगर १३ की ४० वर्षीया रितामाया पुन, सोही ठाउँकी ३५ वर्षीया सुशीला श्रेष्ठ, घोराही १५ की ३३ वर्षीया राधा कुँवर, सोही ठाउँकी ४३ वर्षीया बिमला केसीको मृत्यु भएको जानकारी दिए।

कारका चालक घोराही १३ का ४३ वर्षीय नरबहादुर पुन गम्भीर घाइते छन्। उनको दायाँ खुट्टा, ढाड र बायाँ हातमा चोट लागेको छ।

खोलाले बगाएकाहरूको शव झन्डै तीन किलोमिटर तल घोराही १७ बेलभार भन्ने ठाउँमा फेला पारिएको छ। उनीहरूमध्ये दुई जना चालकका आफन्त हुन्।

उनीहरू नेपालगञ्जमा सपिङ गरेर फर्कंदै गर्दा खोलामा आएको भेलमा परेका थिए।

शवलाई पोस्टमार्टमका लागि राप्ती विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ। चालकको पनि घोराहीमै उपचार भइरहेको छ।
(सेतोपाटी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?