२२ वर्षपछि श्रीलंका नेपालसग हार्योः साफमा नेपालको लगातार दोस्रो जित

  • ख-
  • ख+

साफ च्याम्पियनसिप २०२१ मा नेपालले लगातार दोस्रो खेलमा जित हात पारेको छ। सोमबार राति माल्दिभ्समा भएको खेलमा नेपालले श्रीलंकालाई ३(२ गोलले पराजित गर्‍यो।

साफमा नेपालले श्रीलंकालाई २२ वर्षपछि हराएको हो। पछिल्लो पटक नेपालले साफमा श्रीलंकालाई सन् १९९९ मा हराएको थियो।

सोमबार खेलको ३३ मिनेटमा नेपालले खेलमा अग्रता लियो। नेपालका लागि सुमन लामाले गोल गरे।

सुमनको प्रहार सुरुमा श्रीलंका गोलकिपर सुजन परेराले समात्न खोज्दा फुत्किएर बारमा लागेर फर्किएको थियो। रिबाउन्डमा सुमनले गोल गर्न सफल भए। सुमनको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो।

खेलको ५१ खेलमा नेपालले अग्रता दोब्बर पार्‍यो। अन्जन विष्टले नेपालका लागि दोस्रो गोल गर्न सफल भए।

दोस्रो हाफमा मैदान छिरेका आयुष घलानको क्रसमा नवयुग श्रेष्ठको प्रहारलाई श्रीलंकाका गोलकिपरले फर्काएका थिए। रिबाउन्डमा अन्जनले गोल गर्न सफल भए।

५७ मिनेटमा श्रीलंकाले गोल फर्कायो। उसका लागि मार्भिन हामिल्टनले लङरेन्ज प्रहारमार्फत बललाई जाली चुमाए।

त्यसअघि नेपालका डिफेन्डर सुमन अर्यालले गोल लाइनबाट बललाई क्लियर गरेका थिए।

दोस्रो हाफमा नेपालले काउन्टर आक्रमणमा गोल गर्न सकेन। सुरुमा श्रीलंकाका गोलकिपरले मनिष डाँगीको प्रहारलाई छेकेका थिए। त्यसपछि मनिषले हेडमार्फत दिएको पासमा आयुष घलानको प्रहारमा फेरि श्रीलंकाका गोलकिपर बाधक बने।

खेलको ८६ मिनेटमा आयुषले नेपालका लागि तेस्रो गोल गर्न सफल भए। तेज तामाङको क्रसमा आयुषले उत्कृष्ट फिनिसिङ गरेका थिए। आयुषको पनि यो पहिलो अन्तर्राष्ट्रिय गोल हो।

दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा श्रीलंकाले पेनाल्टी पायो। गौतम श्रेष्ठले ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा डि सिल्भाले गोल गरे।

साफमा नेपाल र श्रीलंकाबीच यसअघि पाँच पटक प्रतिस्पर्धा भएको थिए। जसमा नेपालले तीन खेलमा हार, एक खेलमा बराबरी र एक खेलमा जित हात पारेको थियो।

साफमा नेपालले पछिल्लो पटक सन् २०१५ मा श्रीलंकाविरुद्ध खेलको थियो। सो खेलमा नेपाल १-० गोलले पराजित भएको थियो।

नेपालले सन् १९९९ को साफमा श्रीलंकालाई हराएको थियो। भारतमा भएको खेलमा नेपाल ३-२ ले विजयी भएको थियो। सो खेलमा नेपालका लागि नरेश जोशीले ह्याट्रिक गरेका थिए। त्यसयता नेपालले साफमा श्रीलंकालाई पहिलो पटक हराएको हो।

जितसँगै जारी साफमा नेपाल अंक तालिकाको शीर्ष स्थनमा उक्लिएको छ। नेपाल दुई खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा छ।

दोस्रो स्थानको बंगलादेशको ४ अंक छ। बंगलादेशले सोमबार साँझ सकिएको खेलमा सात पटकको विजेता भारतलाई १(१ गोलको बराबरीमा रोकेको थियो।

नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्स तथा बंगालदेशले श्रीलंकालाई समान १-० ले हराएका थिए।

यसपटकको साफमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र आयोजक माल्दिभ्स गरी पाँच टिमबीच प्रतिस्पर्धा हुनेछ।

पाँच टिमले एक आपसमा खेलेपछि शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ।

साफमा नेपालको खेल
नेपाल भर्सेस माल्दिभ्स – असोज १५ गते – राति ९:४५ बजे ९ (नेपाल १-० ले विजयी_
नेपाल भर्सेस श्रीलंका -असोज १८ गते – राति ९: ४५ बजे ९ (नेपाल ३-२ ले विजयी)
नेपाल भर्सेस भारत – असोज २४ गते -राति ९:४५ बजे
नेपाल भर्सेस बंगलादेश – असोज २७ गते – अपरान्ह ४:४५ बजे

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्