बुटवल मोतीपुर औद्योगिक क्षेत्रमा प्रशासनले लगायो कर्फ्यु: झडपमा ३ जनाको मृत्यु

  • ख-
  • ख+

रूपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको अवस्था तनावग्रस्त बनेपछि रूपन्देही प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै आइतबार अपराह्न ४ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि कर्फ्यु जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी सूचनामा बुटवल उपमहानगरपालिका वडा नम्बर १७ र १८ मा निर्माणाधीन मोतीपुर औद्योगिक करिडोर क्षेत्रको जग्गा अतिक्रमण गरी बस्ती बसाल्ने योजना बनाएकामा स्थिति नियन्त्रणभन्दा बाहिर जाने संभावना साथै सर्वसाधारणको शान्ति, सुरक्षाका लागि कर्फ्यू लगाइएको उल्लेख छ ।

प्रशासनले पूर्व तिनाउ नदी बुटवल उपममहानगरपालिका (१७ शिवनगरदेखि वडा वडा नं. १८ सौरहिया पुलसम्म, पश्चिम हरिहरपुरको खोतीयोग्य जमिन ) बुटवल उपमहानगरपालिका वडा नं. १७ उत्तर शिवनगर बस्ती बुटवल उपमहानगरपालिका वडा नं. १७ सम्म, दक्षिण बुटवल उपमहानगरपालिका वडा नं. १८ औद्योगिक करिडोरको अमिन (धन्दापुर मौरहियासम्म)लाई चार किल्ला तोकेको छ ।

औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्ने समूह, प्रहरी र स्थानीयबीच झडप भएको थियो । स्थानीयले ढुंगामुढा गरेपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोलीबाट तीन जना स्थानीय र तीन जना सशस्त्र प्रहरी गरी छ जना घाइते भएका छन् । घाइतेहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

औद्योगिक क्षेत्रको करिब साढे ८०० बिघा जग्गामध्ये ४०० बिघा जग्गा अतिक्रमण भएको छ । आइतबार बिहान ५ बजेदेखि नै तैनाथ भएका प्रहरीले अस्थायी रूपमा बनाइएका टहराहरू भत्काउन खोज्दा स्थानीयसँग झडप भएको हो ।

बुटवल वडा १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो । प्रशासनले तीन दिनदेखि राति टहराहरू भत्काइदिँदै आएको थियो । तर, त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले आइतबार बल प्रयोग गरेको हो ।

उक्त झडपमा ३ जनाको मृत्यु भएको छ । भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेका घाइतेहरूमध्ये ३ जनाको मृत्यु भएको हो । अस्पतालका प्रशासन प्रमुख शुशील गुरुङले ८ जना स्थानीय ल्याइएकोमा ३ जनाको मृत्यु भएको पुष्टी गरे । उनले घाइते ५ मध्ये १ जनाको अवस्था गम्भीर रहेको बताए । अस्पतालमा ५ जना प्रहरीको पनि उपचार भइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?