तनहूँ । नेकपा एमालेले आगामी कार्तिक ६ गते देशभरका सबै वडाहरूमा एकसाथ अधिवेशन आयोजना गर्ने भएको छ । एकैपटक कात्तिक ६ गते देशभरका ६ हजार ७ सय ४५ वडामा नयाँ नेतृत्व चयन हुँदैछ । मंसिरमा हुने महाधिवेशन अगाडि एमालेले वडा, स्थानीय तह, जिल्ला र प्रदेशका अधिवेशनहरू सम्पन्न गर्दैछ । वडा अधिवेशन पछि कात्तिक ९ गते देशभरका ७ सय ५३ स्थानीय तहको अधिवेशन हुने एमालेले जनाएको छ । अधिवेशनको मिति तोकिएपछि वडा र स्थानीय तहको नेतृत्वका आकांक्षीहरु पनि देखिएका छन् । यस पटक एमालेले प्राय सहमतीकै आधारमा नेतृत्व चयन गर्ने भएको छ ।
पार्टीमा गुटबन्दी र समानान्तर गतिविधि गर्दै आएको समुह पार्टी विभाजन गरेर गएपछि तत्कालको लागि एमालेले वडा, स्थानीय पालिका, जिल्ला र केन्द्रीय नेतृत्व समेत एमालेले सहमतीको आधारमा चयन गर्ने दावी गरेको छ ।
स्थानीय तहको अधिवेशनको मिति तय भएसँगै नेतृत्वको आकांक्षीहरु पनि देखिएका छन् । एमाले व्यास नगर कमिटिको अध्यक्षमा हालसम्म ४ जना आकांक्षी देखिनुभएको छ । हालसम्म ईश्वरबहादुर विष्ट , ज्ञानेन्द्र बसौला, अनिल पाण्डे,, ऋषिराम भुषालले व्यास नगरको अध्यक्षमा आकांक्षा राख्नुभएको छ । चारै जनाहरुले आफु अध्यक्षको लागि योग्य भएर दाबेदार रहेको बताउनुभएको छ ।
विगतमा क्षेत्रीय कमिटिको सचिवालय सदस्य भैसक्नुभएका इश्वरबहादुर विष्टले पनि अध्यक्षको आकांक्षा राख्नुभएको छ । उद्योग व्यापार संगठनको केन्द्रीय सदस्य तथा क्षेत्री समाज तनहूँको अध्यक्ष समेत रहेका विष्टमा यस पटक व्यास नगर कमिटिको नेतृत्व लिने चाहाना रहेको छ । उहाँ पार्टीले आफुलाई नै सहमतीको अध्यक्ष बनाउने आशा व्यक्त गर्नुभएको छ साथै आकांक्षीहरु मध्ये सबैभन्दा बरिष्ठ भएको कारण पनि नगर कमिटिको अध्यक्ष आफु नै हुने विष्टले आशा गर्नुभएको छ ।
अर्का आकांक्षी ज्ञानेन्द्र बसौला व्यास नगरका सचिवालय सदस्य र वडा नं. १ का अध्यक्ष हुनुहुन्छ । उहाँले नेकपा एमालेको भातृसंगठन अनेरास्ववियुबाट नै आफ्नो राजनीतिक सुरुवात गर्नुभएको थियो । व्यास नगर सचिवालय सदस्यको जिम्मावारी पुरा गरि सकेको र अब ब्यास नगर कमिटिको अध्यक्ष भएर ब्यास नगरलाई एमालेमय बनाउने समेत बसौलाले बताउनु भएको छ ।
अनिल पाण्डेले विगतमा क्षेत्रीय कमिटि र व्यास नगर कमिटिको सचिवालय सदस्य र कार्यालय सचिवको जिम्मेबारी निभाएको हुँदा यस पटक व्यास नगर कमिटिको अध्यक्ष बन्ने चाहाना व्यक्त गर्नुभएको छ । यस अघिका अध्यक्षले नदोह्राउने भनेपछि आफ्नो अध्यक्षको स्वभाविक दाबेदार रहेको पाण्डेको पनि भनाई रहेको छ ।
त्यस्तै राष्ट्रिय युवा संघको पुर्व केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष भईसक्नुभएका ऋषि भुषाल पनि आफुले नेतृत्व पाउनुपर्ने दावि गरिरहनुभएको छ । क्षेत्रीय कमिटि र नगर कमिटिमा जिम्मेबारी सम्हालिसकेको हुनाले आफुले अध्यक्षको जिम्मेबारी पाए एमालेलाई आगामी निर्वाचनमा व्यास नगरमा पहिलो शक्ति बनाउने दावी गर्नुभएको छ ।








