मोरङमा शनिबार साँझ भएको सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ।
केराबारी ९ बेलचौरीमा भएको सवारी दुर्घटनामा परी २ जनाको घटनस्थलमै र अर्का एकको उपचारको क्रममा मृत्यु भएको हो।
मोरङको भित्री सडकअन्तर्गत बेलचौरीमा दक्षिणबाट आएको बा १० च ४३०० नम्बरको स्कार्पियो गाडी र को ४० प १७२७ नम्बरको मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।
मृत्यु हुनेमा लेटाङ २ का ३० वर्षीय कमल कार्की, ४५ वर्षीय सीता कार्की र ५५ वर्षीय तिलकबहादुर सुवेदी छन्। मृतक तीनै जना तिहारको टीका लगाएर एउटै मोटरसाइकलमा घर फर्किँदै थिए।
कमल र तिलकबहादुरको घटनास्थलमा मृत्यु भएको थियो। सीताको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। स्कार्पियोमा सवार यात्रुहरू सामान्य घाइते छन्।
स्कार्पियो चालकलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले बताए।
दुर्घटना भएका दुबै सवारी साधन इलाका प्रहरी कार्यलय बेलबारीमा राखिएको छ। (सेतोपाटी)








