कुमारी बैंकका कर्मचारीहरुको बदमासीः नक्कली लालपूर्जा बनाएर निकाले १९ करोड ऋण

  • ख-
  • ख+

काठमाण्डौ । गायक योगेश्वर अमात्यको बारास्थित जग्गाको नक्कली लालपूर्जा बनाएर १९ करोड रूपैयाँ ठगी गरेको अभियोगमा कुमारी बैंकका कर्मचारीसहित चार जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ पर्नेमा कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकुर, जग्गाका मूल्यांकनकर्ता राजेश्वर चौरसिया, मुक्तिनाथ गौतम र एसकुमार महर्जन छन्।

गौतम र महर्जन बेनियल ट्रेडिङ कम्पनी कोटेश्वरका सञ्चालक हुन्। उनीहरूमध्ये तीन जनालाई केही दिनअघि केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंबाट पक्राउ गरेको थियो। चौरसियालाई भने प्रहरीले मंगलबार पक्राउ गरेको हो।

ब्युरोका निर्देशक प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले अमात्यको बारामा रहेको १२ बिगाहा जग्गाको कीर्ते कागजात बनाएर १९ करोड ठगी गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको पुष्टि गरे।

गौतम र महर्जनले बिरुवा भूमि वनकाली कम्पनीका नाममा नक्कली कागजात बनाएर कुमारी बैंकबाट १९ करोड निकालेको फेला परेको सिंहले बताए। बिरुवा भूमि वनकाली योगेश्वर अमात्य र उनकी श्रीमती सञ्चालक रहेको कम्पनी हो।

कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट ठाकुरसहितको मिलेमतोमा उक्त जग्गाको नक्कली लालपूर्जा बनाएर बैंकको न्यूरोड शाखाबाट रकम निकालेको पत्ता लागेपछि चार जनालाई पक्राउ गरिएको सिंहले बताए।

उनका अनुसार त्यसरी नक्कली कागजात बनाएर ऋण स्वीकृत गर्न कुमारी बैंकको केन्द्रीय कार्यालय नक्साललाई पनि पत्राचार गरिएको पाइएको छ। केन्द्रीय बैंकले अनुमति दिएका आधारमा कुमारी न्यूरोड शाखाबाट रकम निकालिएको ब्युरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।

‘सुरूमा पर्सा शाखामा निवेदन दिएको देखिन्छ, पर्सा शाखाले न्यूरोडमा फाइल पठाएको र त्यहीँबाट पैसा निकालेको देखिन्छ,’ ब्युरोका प्रहरी उपरीक्षक महतोले भने, ‘न्यूरोड शाखाले ऋण दिँदा नक्सालस्थित केन्द्रीय बैंकको स्वीकृति पनि लिएको देखिन्छा।’

पक्राउ परेका सबैलाई सरकारी लिखतसम्बन्धी कसुरमा अनुसन्धान थालिएको महतोले जानकारी दिए।

यो प्रकरणमा कुमारी बैंक पर्सा शाखा, न्यूरोड शाखा र कुमारी बैंक केन्द्रीय कार्यालय नक्सालका कर्मचारीको के कति मिलेमतो र संलग्नता छ भन्ने विषयमा अनुसन्धान जारी रहेको महतोले बताए।

पक्राउ परेका चारै जना, कुमारी बैंकको पर्सा शाखा, न्यूरोड शाखा र कुमारी बैंकको केन्द्रीय कार्यालय नक्सालका कर्मचारी छानबिनमा रहेको महतोले बताए।

‘पक्राउ परेकासँग बयान चलिरहेको छ, उनीहरूले कसुर स्वीकार गरेको अवस्था छैन,’ महतोले भने, ‘हामी अनुसन्धान गरिरहेका छौं, कसको के संलग्नताबारे विस्तारै खुल्दै जाने छ।’

गायक अमात्यले आफ्नो जग्गा कीर्ते गरेर ऋण निकालेको सन्दर्भमा एक महिनाअघि उजुरी दिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान सुरू गरेको थियो।

अमात्यले अनुसन्धान क्रममा रहेको विषयमा अहिले प्रतिक्रिया नदिने बताए। (सेतोपाटी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?