खेत बाँझो नराख्ने अभियानको लागि अनुदानमा आलुको बीउ वितरण

  • ख-
  • ख+

अन्जनराज न्यौपाने , मंसिर ४, तनहूँ ।

तनहूँ जिल्लाको शुक्लागण्डकी नगरपालिका– ८ ले वडाका ६ सय ६७ जना कृषकहरुलाई ४० प्रतिशत अनुदानमा आलुको बीउ वितरण गरेको छ ।

राष्ट्रिय आलु तथा मौसमबाली विकास कार्यक्रम अर्न्तगत वडाले ३२ हजार किलो आलुको बीउ वितरण गरेको हो ।

निलो आलु ११ हजार पाँच सय किलो, रातो आलु १८ हजार पाँच सय किलो र पिभिएस आलु दुई हजार दुई सय दाना वितरण गरिएको कृषि शाखाका प्राविधिक भरत जैसीले जानकारी दिए।
उक्त वडामा मात्रै चार लाख ४० हजार केजी बराबरको आलु उत्पादन गर्ने लक्ष्य लिएको उहाँले बताए। बिक्रीको समस्या नरहने भएकोले आफ्नै वडामा नै खपत गर्ने योजना वडाको रहेको छ ।

‘खेत बाँझो नराखौं’ भन्ने अभियान नै वडाले सञ्चालन गरेको छ उनले भने। हिउँदयाममा धान काटेपछि अधिकांश खेत बाँझै राख्ने प्रचलनको अन्त्य गरिएकोले उक्त अभियान चलाईएको वडाले जनाएको छ। बाँझो जमिनमा आलु लगायतको तरकारी तथा तोरी खेती गर्न वडाले कृषकलाई प्रोत्साहन स्वरुप आलु वितरण गरेको हो।
हाल खेत बाँझो नराख्न र आलुमा आत्मनिर्भर बनाउने उद्धेश्यले कृषकलाई अनुदानमा आलुको बीउ वितरण गरिएको वडा अध्यक्ष कृष्णप्रसाद रेग्मीले बताए ।
वडाले खरिद गरी ल्याएको माटो परीक्षण मेशिनबाट उक्त क्षेत्रको माटो परीक्षण गर्दा आलु खेतीको लागि उपयुक्त देखिएकोले कृषकलाई अनुदानमा वितरण गरिएको बताए ।

कृषकलाई ४ किलोग्राम देखि ६ सय किलोसम्म आवश्यकताको आधारमा आलुको बीउ उपलव्ध गराएर प्रदान गरिएको हो । उक्त वडा आलु खेतीको लागि प्रख्यात मानिदै आइएको छ ।

वडामा खपत नभएको खण्डमा वडाले बजार व्यवस्थापन गर्ने र निर्माण गर्न लागेको चिस्यान केन्द्रमा भण्डारणको व्यवस्था गरिने छ । करिब रु तीन करोडको लागतमा सोही वडाको लालिममा चिस्यान केन्द्र निर्माण गर्न प्रक्रिया अघि बढाइ सकिएको छ ।

कोभिड–१९ को सङ्क्रमण बढी रहेकोले कृषि नै आम्दानीको लागि भरपर्दो माध्यम भएकोले ठाउँ सुहाउँदो खेती गरेर जग्गा बाँझो नराख्ने कार्यलाई अभियान नै रुपमा सञ्चालन गर्न लागिएको सो वडा कार्यालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?