सच्चा कांग्रेसीहरु बैकुण्ठ न्यौपानेको हारमा खसीको मासु पकाएर पनि खादैनन् , जितप्रकाशको जितमा शोकमा पनि डुब्दैनन् किनकी तिनलार्ई थाहा छ तनहूँ कांग्रेसमा हिजोसम्म पौडेल र जोशी गुट थियो अब सशक्त तेश्रो गुट उदाएको छ त्यस्लाइ व्यवस्थापन गरेर जितप्रकाश आलेले लालकिल्ला बनेको तनहूँलाई कसरी कांग्रेसको किल्ला बनाउनुहुन्छ त्यो दिनको प्रतिक्षामा छन् ।
दृश्य नं. १, स्थानः घरको बैठक, पात्र: पुरुष, महिला र बालक ।
पुरुषः (अफिस जान लागेका पुरुष श्रीमतीलाई) आज अलि चाडै खानाको व्यवस्था गर्नु म खसीको मासु लिएर आउछु , चिसो छ खसीको झोल सुरुप्प पारेर सब् भगाउनुपर्छ । छोरो: बाबा आज दशैं हो र ? पुरुषः दशैं त हैन बाबु तर दशैं भन्दा ठुलो पर्व हो हाम्रो लागि ।
दृश्य नं. २, स्थानः कुनै एक घरको बेडरुम, पात्र: पुरुष र महिला
( एकजना पुरुष खाटमा टोलाएर बसेको छ । उ अलिकति चलमलाएर मोवाईल हेर्छ अनि आत्तिदै कपाल मिलाउछ अनि खुईए सुस्केरा छोड्दै मोवाईल खाटमा फाल्छ । हातमा चिया लिएर महिलाको आगमन हुन्छ । ) महिला (टोलाईरहेको पुरुषको नजिक आईपुगेपछिः) चिया खानुहुन्छ ? (पुरुष केहि नबोलिकन टोलाएको देखेर) हैन बोलाएको सुन्नुभएन चिया खानुहुन्छ भनेको ?( पुरुष नबोलिकन टोलाईरहेको देखेर ) होईन १२, १ बजे आएर सुत्नुभएकै हो, निन्द्रा त पुग्नुपर्ने, बिरामी हुनुभोक्या हो ? ( निधार छाम्दै) हैन सन्चै त छनि तपाईलाई ? चिया खानुहुन्छ भनेर यत्रो वेर चिच्याउदा पनि सुन्नुहुन्न ? पुरुष: (हात झट्कार्दै) ह्या उता जाँउ चाहिदैन मलाई चियासिया, खाउ तिमी नै के के खाने हो (भन्दै उठेर बाथरुमतिर लम्कन्छ , हातमा चिया लिएर महिला रुँने कि हाँस्ने भावमा उभिईरहेकी छिन् ।)
दृश्य नं.: ३ स्थानः तनहूँ जिल्ला, पात्रहरु: यहाँका बासिन्दाहरु पाँडो पाए पनि बेगुति पाडी पाए पनि बेगुतिको भावमा आ आफ्नो काम गरिरहेका छन् ।
माथिका दृश्यहरुले सोमबार बिहानदेखि तनहूँ जिल्लाका अधिकांश घरहरुको भाव प्रतिनिधित्व गरेको छ यो दृश्य अझै केहिदिनसम्म दोहोरिने छ । कसैलाई खसिको मासु खाने, कसैलाई झोक्राउने हालै सम्पन्न नेपाली कांग्रेस तनहूँको सभापतिको निर्वाचनले बनाएको हो । उक्त निर्वाचनमा नेपाली कांग्रेस तनहूँका कार्यवाहक सभापति जितप्रकाश आले विजयी हुनुभएको छ भने वर्तमान सभापति एवं व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने पराजित हुनपुग्नुभएको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेताको सबैभन्दा प्रिय मान्छे , वरिष्ठ अधिवक्ता, चतुर राजनितिक खेलाडी, वर्तमान जिल्ला सभापति एवं व्यास नगरपालिकाका नगरप्रमुख, २ दशकभन्दा बढि आदिकवि भानुभक्त क्याम्पसको क्याम्पस प्रमुख, लायन्स क्लबदेखि विभिन्न संघसंस्थामा आवद्ध बैकुण्ठ न्यौपानेको हारलाई मानिसहरुले चियापसल तथा भट्टीहरुमा आ आफ्नै बिस्लेषण गरिरहेका आखिर किन र कसरी भयो त बैकुण्ठ न्यौपानेको हार ?
बैकुण्ठ न्यौपानेको हार कतिले ”अति भएपछि खति हुन्छ” भनेका छन् , कतिले ”नेपाली कांग्रेसका पुर्व सह महामन्त्री गोविन्दराज जोशी पक्षका नेता तथा कार्यकर्ता जस्लाई बैकुण्ठ न्यौपानेले पद र प्रतिष्ठा दिएर आफुतिर तान्ने प्रयास गर्नुभयो तिनैले हराएका हुन् ”पनि भनेका छन् । कतिले ” तिन तिनजना केन्दिय सदस्यहरुले बल गरेपछि के गर्नु बिचरा ! एक्लो बैकुण्ठ न्यौपानेले ? ”भनेका छन् ,थोरै थोरैले झिनो स्वरमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि बैकुण्ठ न्यौपानेलाई ”यसपाली जितप्रकाशलाई सर्वसम्मत छोडिदेउ न त भन्दा नमानेर यस्तो अवस्था भएको हो” भनेका छन् । कसैले ”एक व्यक्ति एक पदको धारणले बैकुण्ठ न्यौपानेको पराजय भएको हो ”भनेका छन् । जस्ले जे भने पनि बैकुण्ठ न्यौपानेको पराजयमा माथि उल्लेखित कारणहरु सहायक कारणहरु हुनसक्छन् तर बैकुण्ठ न्यौपानेको हारमा बैकुण्ठ न्यौपाने र बैकुण्ठ न्यौपानेकै मान्छेहरुकै हात रहेको प्रष्ट छ ।
ति मानिसहरु जो कहिल्यै बैकुण्ठ न्यौपानेको राजनितिक भविष्य सुनिश्चित गर्न खोजेनन् जस्ले बैकुण्ठ न्यौपानेको काँधमा चढेर आफ्नो थैली भर्न खोजे आज तिनैले बैकुण्ठ न्यौपानेलाई पराजयको स्वाद चखाईदिएका छन् । आज ति मानिसहरुले बैकुण्ठ न्यौपानेको हारमा शोक मनाईरहेका हैनन् आफ्नो हालिमुहाली गुम्यो भनेर पिडा व्यक्त गरिरहेका हुन् । तिनले बैकुण्ठ न्यौपानेको हार भयो भनेर रोईलो गरिरहदा मनमा लागेको छ म हिजो जुन स्थानमा थिए भोलि जितप्रकाश आलेको पालामा ति स्थानमा अरु कोहि हुनेछन् अनि मेरो चुरिफरि गुम्नेछ । तिनीहरुलाई हिजो आफुले अरुलाई देखाएको हैकम अब अरुले आफुमाथि देखाउने भए भन्ने त्रासले पिरोलेको छ । तिनलाई बैकुण्ठ न्यौपाने हारेर होईन आफ्नो नचाईमा नाच्ने , आफ्नो जि हजुरी सुन्ने, आफुले जे भन्यो त्यहि मान्ने पात्र हार्यो भन्ने चिन्ता छ । तिनलाई तनहूँ कांग्रेस कस्तो हुन्छ ? बैकुण्ठ न्यौपानेको भविष्य कस्तो हुन्छ भन्ने चिन्ता छैन आफ्नो हालिमुहाली घट्ने भो भन्ने चिन्ता छ । तिनलाई चाकडि गरेर धानेको जागिर, रोकेको सरुवा गुम्छ कि भन्ने चिन्ता छ । बैकुण्ठ न्यौपाने पदमा हुदाँ डाडु पन्यु हातमा लिएर मन पर्नेलाई बढि मन नपर्नेलाई कम भाग लगाएको अझ कसैकसैलाई नजिकै पर्न नदिएको र अब आफु त्यस्तै शिकार हुने चिन्ताले छाति पोलिरहेको छ । तिनलाई हिजोसम्म बैकुण्ठ न्यौपानेको हारभन्दा अगाडिको अब आफ्नो जीवन के होला त्यसरी हनुमानगिरी गर्न पाईएला कि नपाईएला ? भन्ने चिन्ता छ । साच्चै ति न त तनहूँ कांग्रेस न त बैकुण्ठ न्यौपानेको चिन्ताले पिरोलिएका हुन् ति तआफ्नै चिन्ताले पिरोलिएका हुन् । ति मानिसहरु जो बैकुण्ठ न्यौपानेलाई हराउन मुख्य भुमिका खेले तिनले हिजै व्यास नगरपालिकामात्र तनहूँ जिल्ला होईन, पद प्रतिष्ठा केहि होईन क्षणिक हो भन्ने बुझेकोे भए, बैकुण्ठ न्यौपाने जति नै विद्धान भए पनि मान्छे हुनुहन्छ उहाँबाट गल्ति पनि हुन सक्छ भनेर उहाँले ”सेतोलाई कालो” भन्दा ”हो ”भनेर भन्दा ‘‘सर यो त कालो नै हो है, कति कालो है !” भन्दै तालि नपिटेको भए कांग्रेसको जित हुन्थ्यो कि हुन्थेन थाहा छैन तर बैकुण्ठ न्यौपानेको जित पक्कै हुने थियो कि ? हजारौ विद्यार्थीहरुको मनोभाव बुझेको मान्छे बैकुण्ठ न्यौपानेले जनताको मनोभाव बुझेको भए, कार्यकर्ताको मनोभाव बुझेको भए, आफ्नो अनावश्यक गुणगान गाउने र आलोचनात्मक समर्थन गर्नेको भाव बुझेको भए आज यो दिन देख्न पर्दैनथ्यो कि ?
अनि ”खसीको मासु पकाएर खानुपर्छ ”भन्नेहरु पनि जितप्रकाशको खुशीमा रमाएका, कांग्रेसको खुशीमा रमाएका पक्कै होईनन् ति पनि अब ”सोझो, इमान्दार जितप्रकाशलाई घुमाउन पाईन्छ” भनेर खुशी भएर उफ्रेका हुन् । न कसैलाई जितप्रकाशको चिन्ता छ न कसैलाई कांग्रेसको चिन्ता छ । चिन्ता छ त सबैलाई आ आफ्नो कुण्ठा, रिस, राग पोख्नुछ । कसैलाई बैकुण्ठ न्यौपानेले भनेको नमान्दा मनमनै ”पख न तलाई एकदिन देखाईदिन्छु” भनेका थिए आज जितप्रकाशको जितले त्यो पुरा भएकोमा खुशी भएका हुन् ।
तेश्रो दृश्यमा भएका मानिसहरुलाई कसैको चिन्ता छैन बस् उनीहरुलाई कांग्रेस सुध्रिनुपर्छ । तनहूँ जिल्ला लालकिल्लाबाट कांग्रेसको किल्ला बनाउने नेतृत्व चाहिन्छ भनेर हिजो पनि लागेको थिए आज पनि लागे । तिनीहरु मत परिणाम आयो ”पाँडो पाए पनि बेगुति पाडी पाए पनि बेगुति” को भावमा आ आफ्नो काम गरिरहेका छन् । ति मानिसहरु बैकुण्ठ न्यौपानेको हारमा खसीको मासु पकाएर पनि खादैनन् , जितप्रकाशको जितमा शोकमा पनि डुब्दैनन् किनकी तिनलार्ई थाहा छ ”तनहूँ कांग्रेसमा हिजोसम्म पौडेल र जोशी गुट थियो अब सशक्त तेश्रो गुट उदाएको छ त्यस्लाइ व्यवस्थापन गरेर जितप्रकाश आलेले लालकिल्ला बनेको तनहूँलाई कसरी कांग्रेसको किल्ला बनाउनुहुन्छ त्यो दिनको प्रतिक्षामा छन् । ति जो सच्चा कांग्रेसीहरु हुन् तिनीहरुको त्यतिबेला खसीको मासु खानेछन् जतिबेला फेरि तनहूँ कांग्रेसको किल्ला बनाउन जितप्रकाशले जित दिलाउनेछन् । होईन फेरि जितप्रकाश आले पनि आफुलाई भड्खारामा हाल्ने, आफ्नालाई नचिन्ने बैकुण्ठ न्यौपाने बनेर अगाडि बढ्नुभयो भने अर्को कार्यकालमा अर्को बैकुण्ठ न्यौपाने बन्ने पक्का छ किनकी तनहूँ कांग्रेसका कार्यकर्ताहरु ” भिरबाट हाम्फाल्न लागेकोलाई काँध थाप्न होईन सधै भिरबाट धकेल्न” उद्यत रहन्छन् ।








