तनहूँ । तनहूँ जिल्लाको बन्दिपुर गाउँपालिका वडा नं. १ डुम्रे बजारको एउटा बेकरी उद्योग तालाबन्दि गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहूँको नेतृत्वमा गएको टोलीले उक्त बेकरीमा अनुगमन गर्दा डुम्रे स्थित रजनिश बेकरी उद्योगले सडेगलेको र अखाद्य बस्तुको प्रयोग गर्ने गरिएको भेटिएपछि बेकरी उद्योग र पसल बन्द गरिएको छ । सोमबार सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको टोलीले उक्त बेकरी उद्योगमा अनुगमन गर्दा उक्त बेकरीले व्यवसाय दर्ता समेत गरिएको पाएको छैन ।
व्यवसाय नै दर्ता नगरि संचालन गरेको, सडेगलेको अखाद्य बस्तुको प्रयोग गरि बजारमा बिक्री वितरण गरेको, विभिन्न केमिकलको प्रयोग र सरसफाई समेत राम्रोसंग नगर्दा बेकरी दुर्गन्धित रहेको जानकारी आएपश्चात अनुमगन गर्दा बेकरीको चरम लापरवाही भेटिएको अनुगमनमा सहभागी एक सदस्यको भनाई रहेको थियो ।

बेकरी उद्योग भनि संचालन गरेको उक्त उद्योग र त्यसैका संचालकद्धारा संचालन गरिएको पसल संचालनको लागि योग्य नभएको कारणले ताला लगाईएको र जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन दिईएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताउनु भएको छ ।
बरालको नेतृत्वको टोलीले डुम्रेबजारका मिठाई पसल, खाद्यान्न पसल, माछामासु पसल, तरकारी पसल र बीउ बिजन र दाना पसलहरुको अनुगमन गरेको थियो। अनुगमनको क्रममा दर्ता नगरी व्यवसाय संचालन गरेको, दर्ता नविकरण नगरिएको, म्याद गुर्जेका उपभोग्य बस्तुहरु बिक्री योग्य बस्तुसंगै राखेको, लेवल नराखिएको, अशुद्ध तेलमा खानेकुरा पकाई बिक्री गर्ने गरिएको, बीउ बिजन र विषादी पसल एउटै पसलमा बिक्री गर्ने गरेको, म्याद गुज्रिएको पेय पदार्थ थोक बिक्रेताले पसलमा बिक्रि गर्ने गरिएको भेटिएको थियो ।










