काठमाण्डौ । भरतपुर महानगरपालिकाको मेयरको मतगणना भइरहेको बेला मतपत्र च्यात्ने चितवनका माओवादी कार्यकर्ता द्रोणबाबु शिवाकोटी र मतपत्र च्यातेकोलाई वैधानिकता दिएर पुनः मतदानको निर्णय गर्ने तत्कालीन निर्वाचन आयोगका पदाधिकारी अयोधीप्रसाद यादव र आयुक्त सुधीर साहलाई माओवादीले सम्मान गरेको छ । माओवादीले सम्मान स्वरुप उहाँहरुलाई सत्तारुढ नेकपा माओवादी केन्द्रको निर्वाचन विभागको सदस्य नियुक्त गरिएको छ । अधिवक्ता खिमलाल देवकोटा नेतृत्वको विभागको २८ सदस्यीय टिममा मतपत्र च्यात्ने चितवनका माओवादी कार्यकर्ता द्रोणबाबु शिवाकोटी, यादव र शाहलाई सम्मान स्वरुप राखिएको हो ।
२०७४ को स्थानीय तहको निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेका बेला माओवादी र कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहाल पराजित हुने निश्चित देखिएपछि माओवादी कार्यकर्ता द्रोण शिवाकोटी र मधु न्यौपानेले मतपत्र च्यात्नुभएको थियो ।
मतपत्र च्यातिएपछि निर्वाचन आयोगमा मुद्दा परेको थियो । एमालेसहित अन्य दलले च्यातिएका मतपत्रसहित गणना गर्नुपर्ने माग गरेका थिए । तर, सो गणना गर्दा एमाले उम्मेदवार देवी ज्ञवालीले जित्ने देखिएपछि निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधी यादव र साहसहित बहुमतले पुनः मतदान गराउने निर्णय गरेको थियो ।
एमालेले मतपत्र च्यात्ने काममा सरकारदेखि निर्वाचन आयोगका प्रमुख आयुक्तसम्मको सेटिङ रहेको आरोप लगाएको थियो । अदालतले मतपत्र च्यात्नेमा द्रोण र मधुलाई दोषी ठहर गर्दै १।१ लाख रूपैया जरिवानासमेत गरेको थियो ।









