रामचन्द्र पौडेललाई कांग्रेसको सभापति बनाउनै हुदैन किनकी….

  • ख-
  • ख+

रामचन्द्र पौडेल पार्टी सभापति भएर नेपाली कांग्रेस सुघ्रियो भने अहिले कांग्रेसी नेता तथा कार्यकर्ताहरुलाई पच्ला र ?

तनहूँ । तनहूँको उत्तरी भेगको कुनो रिस्तिको ढाँडबाट काठमाण्डौ पुग्नुभएका रामचन्द्र पौडेल यतिवेला नेपाली कांग्रेसको सभापति बन्छुभन्दा मानिसहरुले विभिन्न कोणबाट कुरा गरिरहेका छन् । रामचन्द्र पौडेललार्ई त्यो रिस्तिको त्यो ढाँडबाट निस्केर आजसम्म अवस्थामा पुग्न सजिलो भएको थिएन । १५ बर्षको जेलजीवन काटेर आज कांग्रेसको सभापति माग गर्दैगर्दा पौडेलले अपनाएको सिद्धान्त र निष्ठालाई सबैले चटक्क भुलेका छन् । आफ्नो गुटबाट आज ४ जना सभापतिका आकांक्षी हुदाँ हामी मध्ये १ जना आकांक्षी बनौ वर्तमान सभापति शेरबहादुर देउवाको एकाधिकारलाई तोडौ भनेर ठुस्किदा बुढाले आफुले नपाउने भएपछि ठुस्सिएका हुन् भनेका छन् ।

मानिसहरु रामचन्द्र पौडेललाई पदको असाध्यै लोभि मान्छेको रुपमा पनि चित्रण गर्ने गर्दछन् । ”सभामुख भईसकेको मान्छे उपप्रधानमन्त्री खान मरिहत्ते गर्न नहुने ”पनि भनेर आज पनि कुरा मानिसहरु काटिरहन्छन् भने अर्कोथरि चाँहि पौडेलको ओठ ढाक्दै ”पार्टीमा आफ्नो अस्तित्व रक्षा गर्नुथियो , जिल्लामा समकक्षी गोविन्दराज जोशीसग भिड्नुथियो, पूर्व सभामुख बनेर घरमै बसेको भए त्यो कसरी सम्भव हुन्थ्यो र ? त्यहि बुझेर नै उहाँले उपप्रधानमन्त्री पनि बन्नुभएको हो” भन्न पनि पछि पर्दैनन् ।

रामचन्द्र पौडेल जिल्लाबाट त्यत्रो पटक जितेर गएपनि कार्यकर्तालाई जागिर लगाउने सवालमा चुकेको बताउृदै राम्रो नेता नभएको टिप्पणी गर्न पनि पछि पर्दैनन् केहि मानिसहरु तर स्वरोजगार हुनुपर्छ आफ्नो घर, गाउँ , नगर , जिल्ला आफै बनाउनुपर्छ भन्ने पौडेलको अवधारणलाई कार्यकर्तालाई नपोस्ने नेताको रुपमा चित्रण गरेर लामो सघर्षको अवमुल्यन गर्न पनि पछि पर्दैनन् मान्छेहरु । ”आफुलाई पर्दा घरमा ठुस्सिएर बस्ने रामचन्द्र पौडेललाई गणेशमान सिंंह र कृष्णप्रसाद भट्टराई धुरुधुरु रोएर पार्टी छोड्दा एक वचन बोल्न के ले रोकेको थियो र ? ‘‘ भनेर रामचन्द्र पौडेलले ”म गणेशमान र किसुनजीको सच्चा अनुयायी हुँ ” भन्दा मनमनै औला ठड्याउछन् त्यो बेलाका बुझ्नेहरु । संसदिय राजनीतिमा फसेर सत्ताको चास्निको लत लागेको मान्छे कसरी अरुसग सति जान सक्छ त्यो कत्ति पनि बुझेका छैनन् ति मान्छेहरुले र रामचन्द्र पौडेललाई औला ठड्याईरहेका छन् । हो रामचन्द्र पौडेलका थुप्रै गल्तीहरु होलान् , जिल्लामा समकक्षी गोविन्दराज जोशीलाई मिलाउन नसकेर सधै भिडन्तमा शक्ति खर्च गर्दै कांग्रेसलाई नै कमजोर बनाउनु पौडेलको गल्ती होला ? जिल्लाका सम्भावना भएका थुप्रै नेताहरु हुदाँहुदै पनि तिनलाई उत्तराधिकारीको रुपमा साथमा लिन नसक्नु अर्को गल्ती होला ! त्यससगै जिल्लाबाट केन्द्रमा पुगेका नेताहरुलाई विश्वास नगर्नु अर्को ठुलो गल्ती रहेको होला अझ आफ्ना पुत्र चिन्तन क्षमतावान् भए पनि क्षमतावान् नभएपनि जिल्ला तथा केन्द्रको राजनीतिमा अगाडि नबढाउनु रामचन्द्र पौडेलको ठुलो गल्ती होला ! त्यसो भन्दैमा रामचन्द्र पौडेल कांग्रेसको सभापति हुनै नसुहाउने व्यक्ति हो भन्न चाँहि कत्ति पनि होईन कि ?

तर पनि उहाँका व्यवहार, आचरण, नैतिकता, निष्ठाले गर्दा उहाँ अहिलेको कांग्रेस सभापति चाँहि हुनै नहुने मान्छे चाँहि पक्कै हो किनकी जिल्लातिर दुई चार सय जना शिक्षक तथा कर्मचारी जागिर लगाएपनि असंख्य जागिर लगाउने ह्याउ नभएका नेता हुनुहुन्छ रामचन्द्र पौडेल । अरु नेताका धेरै कार्यकर्ताहरु ठेक्कापट्टा, वालुवाखानी, ढुगां खानीमा रमाउदा थोरै आफ्ना नजिककलाई मात्र त्यतातिर रमाउन दिने नेता हुनुहुन्छ रामचन्द्र पौडेल । निर्वाचनका बेला कांग्रेसका अरु उमेदवारहरुले पैसाको खोलो बगाउदा ”म नेपाली कांग्रेसको सिद्धान्त,निष्ठा र नैतिकताबाट चल्ने मान्छे किन चाहियो मासु, भात ? किन चाहियो मोटरसाईकल र्याली ? ” भन्ने नेता हुनुहुन्छ रामचन्द्र पौडेल । भन्नेहरुले त ”१५ बर्ष जेल बसे भनेर हुन्छ ? बोहोराटारको रोपनीका रोपनी जग्गा र त्यो महल अनि शान शौकत त्यसैको प्रतिफल त हो नि ”भनेपनि तमाम नेताहरुमध्ये नैतिकवान, धनवाद र डनवादलाई प्रश्रय नदिने, आफ्नो पार्टीका हुन् कि अरुका पार्टीका हुन् कुनै पनि मानिसलाई कम जागिर लगाईदिने, जिल्लामा गोविन्दराज जोशीलाई सिध्याउछु केन्द्रमा शेरबहादुरसग भिड्छु भन्दा भन्दै जिल्लाको विकासमा कम ध्यान दिने, कांग्रेसका अरु नेताहरुभन्दा धेरै नैतिकवान् नेता हुनुहुन्छ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल त्यसैले पनि रामचन्द्र पौडेललाई नेपाली कांग्रेसको सभापति बनाउनै हुदैन । रामचन्द्र पौडेल पार्टी सभापति भएर नेपाली कांग्रेस सुघ्रियो भने अहिले कांग्रेसी नेता तथा कार्यकर्ताहरुलाई पच्ला र ?

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?