नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल लगायत ४ जना खेलाडीलाई कारवाही

  • ख-
  • ख+

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमको कप्तानीबाट ज्ञानेन्द्र मल्ललाई अपमानजनक तरिकाले बर्खास्त गरेको छ । साथै, टिमका प्रमुख चार खेलाडीहरु क्यानको कठोर कारवाहीमा परेका छन् ।

उपकप्तान दिपेन्द्र ऐरीलाई पनि पदमुक्त गरिएको छ । ज्ञानेन्द्र र दिपेन्द्रका साथै सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को सुरुको ६ महिनासम्म सेन्ट्रल कन्ट्राक्टबाटबाहिर राख्ने क्यानले निर्णय गरेको हो । उनीहरुले जनवरीदेखि मे महिनासम्मको पारिश्रमिकबाट वञ्चित हुनेछन् । आचारसंहित उल्लंघनका आरोपमा क्यानले लिएको यो निर्णय विवादित बन्न सक्छ ।

बोर्डको निर्णयमा ६ जना सदस्यले असहमति जनाएका थिए । दाउद अन्सारी, करण महतरा, छुम्बी लामा, सञ्जय सिंह, अमितबाबु पाण्डे र ऋषिराम पाण्डेले असहमति जनाएका हुन् । उनीहरुले नेपालले महत्वपूर्ण प्रतियोगिताहरु खेल्नुपर्ने बेलामा यसरी कारवाही गर्दा समस्या उत्पन्न हुने भन्दै नोट अफ डिसेन्ट लेखेको बुझिएको छ ।

गत वर्ष कात्तिक १३ गते क्रिकेट संघले मल्ललाई कप्तानीको जिम्मेवारी दिएको थियो । तत्कालीन कप्तान पारस खड्काले पदबाट राजीनामा दिएपछि उपकप्तान रहेका मल्ललाई कप्तान बनाइएको थियो । तर, १३ महिनामै ज्ञानेन्द्रको कप्तानी खोसिएको छ । उनको ठाउँमा युवा स्टार सन्दिप लामिछाने कप्तान नियुक्त भएका छन् । सन्दिप अहिले अष्ट्रेलियामा बिग ब्यास लिग खेल्न व्यस्त छन् ।

विवादको जरो बर्गीकरण

क्यानको गत असोजमा बसेको बोर्ड वैठकले पुरुष तथा महिला क्रिकेट खेलाडीको नयाँ ग्रेडिङ पारित गरेको थियो । तत्कालीन उपाध्यक्ष राजुबाबु श्रेष्ठको संयोजकत्वमा गठित समितिले तय गरेको उक्त वर्गीकरण अप्रिल २०२१ देखि डिसेम्बर २०२१ सम्मका लागि हो ।

यसरी गरिएको श्रेणी विभाजनअनुसार क्यानले खेलाडीलाई फरक–फरक पारिश्रमिक उपलब्ध गराउँछ । क्रिकेट संघले ए श्रेणीमा रहेका पुरुष खेलाडीलाई मासिक ५० हजार, बी श्रेणीलाई मासिक ४० हजार र सी श्रेणीका लागि ३० हजार रुपैयाँ पारिश्रमिक दिने गर्छ ।

बर्गीकरणपछि खेलाडीहरुलाई नयाँ सम्झौतामा हस्ताक्षर गर्न बोलाइएको थियो । तर, सम्झौता गर्न गएका केही खेलाडी बर्गीकरणबाट असन्तुष्ट बनेका थिए । नेपाली टिमका प्रमुख बलर सोमपालले आफूलाई ‘बी’ श्रेणीमा राखिएकोमा चित्त बुझाएनन् । वर्गीकरणमा असन्तुष्टि जनाउँदै उनले हस्ताक्षर गर्न अस्वीकार गरेका थिए ।

राष्ट्रिय टिमका सदस्य रोहितकुमार पौडेल वर्गीकरणमै परेनन् । यस्तै बलर कमलसिंह ऐरीलाई ‘सी’ श्रेणीमा राख्दा उनी सन्तुष्ट भएनन् । युवा बलर गुल्शन झालाई वर्गीकरणमा नसमेटिएको विषयले पनि प्रश्न उब्जायो ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरीले सञ्चारमाध्यममा खेलाडीको वर्गीकरणमाथि असन्तुष्टि जनाएका थिए । त्यसपछि क्यानले चार खेलाडीलाई स्पष्टिकरण सोधेको थियो । खेलाडीको स्पष्टीकरणमा चित्त नबुझाएर क्यानले कारवाहीको निर्णय लिएको हो ।

क्यानको निर्णयले नेपाली क्रिकेटमा नयाँ अस्थिरता पैदा गर्ने खतरा बढेको छ । नेपालले ग्लोबल क्वालिफायर, क्रिकेट वल्र्डकप लिग टु जस्ता महत्वपूर्ण प्रतियोगिताहरु खेल्नुपर्ने बेला यस्तो निर्णयले खेलाडीको मनोबल गिराउन सक्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्