तनहूँ । तनहूँ जिल्लाको भानु नगरपालिका वडा नं १२ स्थित श्री अर्चले युवा क्लबद्धारा वार्षिक रुपमा आयोजना हुदै आएको प्रसिद्ध “अर्चले फुटबल कप–२०७८” को पाँचौं संस्करणको आयोजना मिति आज सार्वजनिक गरिएको छ ।
“युवाहरु बीच आपसी सद्भाव, समन्वय, सहकार्य र पारस्परिक एकता– सभ्य स्वच्छ, स्वस्थ समाज निर्माणको निमित्त आजको आवश्यकता” भन्ने मुल नाराका साथ पाँचौं अर्चले फुटबल कप–२०७८ यही आगामी माघ १५ गते शनिबारका दिन उद्घाटन गरी माघ २४ गते समापन गरिने कार्यतालिका सार्वजनिक गरिएको प्रतियोगिता आयोजना मुल समारोह समितिका संयोजक सुदिप के.सी. ले जानकारी दिनुभयो । समाजका विभिन्न क्षेत्रमा छरिएर रहेका खेल प्रतिभाले भरिपूर्ण खेलाडीहरुलाई एकिकृत गर्दै स्वच्छ, स्वस्थ एवं मैत्रीपूर्ण खेल प्रदर्शन गराउने उद्देश्यका साथ अर्चले युवा क्लबले स्थापना कालदेखि नै विभिन्न प्रकारका खेलकुद कार्यक्रमहरु संचालन गर्दै आएको पनि उहाँले बताउनुभयो ।
तनहूँ, लम्जुङ, गोरखा, कास्की, चितवन लगायत विभिन्न जिल्लाका गरी ४० भन्दा वढी युवा क्लबहरुको उत्साहजनक सहभागिता रहने, ४ सय भन्दा वढी खेलाडीहरु बीच स्वच्छ प्रतिस्पर्धा रहने गरी बृहत तयारी सुरु गरिएको समेत जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुने समूहले कप, प्रमाणपत्र (खेलाडी) , प्रशंसा पत्र , मेडलको साथमा नगद १ लाख १ हजार १ सय ११ रुपैया प्राप्त गर्नेछ । यसै गरी द्धितीय हुने समूहले प्रमाणपत्र (खेलाडी), प्रशंसा पत्र (क्लब), मेडलको साथमा नगद ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षक, हरेक खेलको उत्कृष्ट खेलाडी र अनुशासित समूहलाइ समेत पुरस्कारको व्यवस्था गरिएको र सहभागी हुने सम्पूर्ण समूहहरुलाई प्रशंसा पत्र प्रदान गरिने जानकारी क्लबका अध्यक्ष कृष्ण बहादुर गुरुङ्गले दिनुभयो ।
प्रतियोगितामा उत्साहजनक रुपमा सहभागी हुन र प्रतियोगिता सफलताका साथ संचालन गर्नका निमित्त आर्थिक एवं विभिन्न प्रायोजनहरु गरी सहयोग गरिदिनका लागि आर्थिक सहयोग संकलन समितिका संयोजक पविन गुरुङ्गले सम्पुर्ण खेलप्रेमी महानुभावहरु समक्ष अनुरोध गर्नुभएको छ ।








