राज्यकोषमा भीआईपीको दोहन( झलनाथदेखि रामवरणसम्म कसले कति लिए (सूचीसहित)

  • ख-
  • ख+

काठमाडौं । नाम र दाम कमाएका ‘भीआईपी’ ले राज्यको कोषमा र्‍याल काढ्ने र सरकारमा रहेकाहरूले मन फुकाएर बाँड्ने क्रम फेरि सुरू भएको छ । राज्यकोषबाट नेताहरूले उपचार खर्च लिने कुराको तीब्र विरोध भएपछि केही समय यो रोकिए पनि यो आर्थिक वर्षमा मात्रै ३ करोड रूपैयाँभन्दा बढी आर्थिक सहायता बाँडिएको छ ।
राज्य कोषबाट साउनदेखि मंसिरसम्म बाँडिएको आर्थिक सहायता लिनेमा पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पहिलो नम्बरमा छन् । खनालले दुईपटक गरेर उपचार खर्चबापत ५८ लाख ५३ हजार रूपैया लिएका छन् ।

अर्थ मन्त्रालयले विविध खर्च शीर्षकमा रकमान्तर गरेर परराष्ट्र मन्त्रालयमार्फत दिल्लीस्थित नेपाली दूतावासमा सो रकम खनालको उपचार खर्च व्यवहोर्न पठाएको हो । खनाल अब फेरि उपचारका लागि चीन जाने तयारीमा छन् । उनले आफूसँग पैसा नभएको भन्दै राज्यकोषबाट खर्च लिने यसअघि नै बताइसकेका छन् ।
पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई नपुग्दो केही पनि छैन । उनी आफैं सम्पन्न व्यक्ति हुन् भने सरकारले दिएको घरमा बसिरहेका छन् । पटक-पटक सरकारबाट आर्थिक सहायता बुझ्दै आएका यादवले यही मंसिरमा थप १० लाख रूपैयाँ गृहमन्त्रालयमार्फत आर्थिक सहायता शीर्षकमा बुझेका छन् ।

वागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंसिर महिना नै उपचार खर्च शीर्षकमा कुरुवाको खर्चसमेत बुझेका छन् । उनले बिलबमोजिम पहिलो चरणमा १२ लाख ९० हजार बुझेको अर्थमन्त्रालयले सार्वजनिक गरेको खर्च विवरणमा उल्लेख छ ।
त्यस्तै पूर्वमन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य रघुजी पन्तसहित तीनजनाले २७ लाख रूपैयाँ आर्थिक सहायता लिएको अर्थको विवरणमा उल्लेख छ । नेकपा एसका नेता तथा पूर्वमन्त्री प्रदीप नेपाल र रामेछाप गेलुकी मैया भुजेलका नाममा गृहमन्त्रालयमार्फत एकैपटक १४ लाख रूपैयाँ निकास भएको छ ।

अरु कसले कति बुझे ? यो लिंकमा गएर हेर्न सकिन्छ ।

१। झलनाथ खनाल-५८ लाख ५३ हजार

२. डा.रामवरण यादव- १० लाख
३. यादवचन्द्र शर्मा-१२ लाख,९० हजार

४.प्रदीप नेपालसहित २ जना-१४ लाख

५. रघुजी पन्तसहित ३ जना-२७ लाख

६. बोधप्रसाद घिमिरे,झापा दमक १ लाख

७. राजबहादुर शाही मुगु-७ लाख

(नेपाल प्रेसबाट)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?