आत्मरति र आत्मप्रशंसामा रम्दै पिडामा छु भन्ने सिनयिर नेताको अर्तनाद सुनेको नसुनै गर्ने तनहूँ कांग्रेसका नेताहरु आजकल गोविन्दराज जोशीको दैलो टेक्न र गुणगान गाउन थाल्नुलाई चुनाव आउन लागेको संकेतको रुपमा सबैले बुझेका छन् भने जिताउन नसकेपनि हराउने ल्याकत राख्ने नेता जोशी जस्ले आफ्नो माग पुरा गराउन सक्छ त्यसैलाई काखी च्याप्ने दाउँमा हुनुहुन्छ ।
तनहूँ । नगरप्रमुखको वैभव, अर्वौको बजेट, प्रदेशका सांसद र मन्त्रीको त के कुरा गर्नु केन्द्रका मन्त्रीकोभन्दा बढि शान, शौकत र हैकम चल्ने भएकोले पनि देशैभरका नगरपालिकाको प्रमुख बन्न आगामी निर्वाचनमा टिकट पाउन निकै पापड बेल्नुपर्नेछ ।
स्थानिय निकायका जनप्रतिनिधिहरुको पदावधि सकिनै लाग्दा सत्तारुढ गठबन्धनले चुनावको मिति घोषणा गर्ने कि मन्त्रीपदमा झुण्डिईरहने फैसला गर्न बाँकि रहेपनि तनहूँमा सधै चर्चाको केन्द्रमा रहने व्यास नगरपालिकामा नेताहरुको एकअर्काको मुखामुख गर्ने, मेरो बारेमा कसैले बोलिदिए हुन्थ्यो, लेखिदिए हुन्थ्यो भनेर मनमनै भन्ने र एक अर्काको नाडि छाम्ने प्रकृया चल्न थालेको छ ।
कम्युनिष्टहरु एक भएर कांग्रेसको असन्तुष्ट पक्षलाई साथ लिन सक्यो , भर्खरै सम्पन्न अधिवेशनको तुष, कुण्ठा र अपमानको बदला लिन नेपाली कांग्रेसको कुनै समुह उद्धत भयो, नेपाली कांग्रेसले सहि उमेदवारलाई टिकट दिएन भने भिन्न कुरा नत्र व्यासमा नगरप्रमुख नेपाली कांग्रेसभन्दा अरुले जित्छ भन्नु दिवास्प्न नै ठर्हदछ ।
अब चर्चा गरौ व्यासका सम्भावित नगरप्रमुखहरुको बारेमाः संविधान सभाका सदस्य एवं व्यासका पूर्व नगरप्रमुख धुव्र वाग्लेलाई ”केन्द्र र प्रदेशमा भन्दा नगरमा सम्भावना रहेकोले सभापति शेरबहादुर देउवासगको सम्बन्धको फाईदा लिन लाग्नुपर्ने” भनेर एकथरिले धेरै पहिलादेखि भनिरहेका छन् । शंकर भण्डारी, गोविन्द भट्टराई पनि एउटै समुहमा हुनु र वरिष्ठ नेता रामचन्द्र पौडेल पनि देउवा समुहमा विलिन हुनुले पनि वाग्लेलाई टिकट पाउन सजिलो हुने धेरैको आकंलन रहेको छ । त्यसोे त गण्डकी प्रदेशका मुख्यमन्त्रीका साँहिलोभाई राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं कोईराला परिवारका ज्वाई डा.जगदिशचन्द्र पोखरेल पनि मैदानमा आउनसक्ने कुरालाई पनि यतिबेला पुरै नकार्न सकिदैन ।
व्यासभित्र राम्रो पकड बनाएर २, ३ जना बाहेक अरु वडाअध्यक्षहरुलाई आफ्नो औलामा नचाउन सफल वर्तमान नगरप्रमुख बैकुण्ठ न्यौपाने पनि पुनः आफ्ना बाँकि योजनाहरु पुरा गर्नको लागि ठुला पौडेलदेखि साना पौडेलसम्मको बल लगाउन कत्ति पनि पछि पर्नुहुने छैन भन्ने कुरालाई अरु आकांक्षीहरुले कत्ति पनि बिर्सेका छैनन् । देउवा समुहमा विलिन हुनुभएका पौडेलले ”के गर्नु तनि जिल्ला सभापतिमा हारे फेरि एकपटक मौका दिँउ न त !” भन्नु भो र देउवाले ”हुन्छ ” भन्नुभो भने कसैले टाउको ठोकेपनि न्यौपानेको टिकट खोस्ने सम्भावना एकदमै कम रहनेछ ।
नेपाली कांग्रेस तनहूँको उपसभापतिमा विजयी भएपछि देवकुमार श्रेष्ठलाई धेरैले व्यासको आगामी नगरप्रमुखको आकंलन गरेपनि त्यो सम्भावनालाई असफल पार्न उहाँ विरोधी घरानाहरु कस्सिएर लाग्ने सम्भावना रहेको छ तर नेपालको राजनितीलाई चुनाव खर्च आदि ईत्यादि कुराले डोर्याउने भएकोले श्रेष्ठले टिकट ल्याउने सम्भावनालाई पनि नजरअन्दाज गर्न सकिदैन।
व्यासकी उपप्रमुख भएको कारण पनि मिरा जोशीलाई अगाडि बढाउन केन्द्रबाट चाह्यो भने कसैको केहि लाग्ने वाला छैन । त्यतिबेला आफुले टिकट नपाए जोशीलाई अगाडि बढाउने धुव्र वाग्लेको तुरुप काम लाग्न सक्नेछ ।
नेका तनहूँका पूर्व प्रवक्ता अशोककुमार श्रेष्ठ पनि आफुलाई व्यास नगर बनाउन सक्ने भिजन भएको मान्छेको रुपमा धेरै अगाडिदेखि प्रस्तुत गरिरहनुभएको छ । मनि, मसल र राम्रा हैन हाम्रा मान्छेलाई टिकट बाड्ने संस्कार भएको वर्तमान राजनिती वातावरणमा उहाँले आफु कहाँ कसरी उभ्याउनुहुन्छ टिकट त्यसैमा नै भरपर्ने प्रवल सम्भावना रहेको छ ।
कांग्रेसको क्षेत्रिय निर्वाचनमा दमौलीमा बैकुण्ठ न्यौपानेको गुटबिरुद्ध उभिने कोहि उभिने आँट नगर्दा संस्थापन पक्ष (तिनभाई) को उमेदवार भई मोर्चा खोल्नुभएका विश्व वास्तोलालाई धेरैले नगरप्रमुखको उमेदवार पक्का भनेपनि टिकट हत्याउन चियापसलमा गफ दिए जस्तो सजिलो हुदैन भन्ने सबैले बुझ्नु जरुरी रहेको छ ।
भुमिका विहिन बनाईएका जिल्ला समन्वय समितिका तनहूँका प्रमुख शान्त स्वभावका शान्तिरमण वाग्लेले नगरप्रमुखको टिकट ल्याएमा कसैले अचम्म नमाने हुन्छ । शान्तिदाईले टिकट ल्याई अहिल्यैसम्मकै अत्याधिक मत आउछ र गोविन्दराज जोशीलाई पनि वाग्लेलाई हराउनको लागि एकपटक सोच्न बाध्य हुने धेरै मानिसको तर्क गरेका छन् ।
माथिका नामहरु नेपाली कांग्रेसबाट आउन सक्ने सम्भावित नामहरु हुन् भने टुक्रिएर थलिएको नेकपा एमालेले कसरी ? कोसग गठबन्धन गरे फाईदा लिन सकिन्छ त्यसरी अगाडि बढ्ने सम्भावना रहेको छ ।
युवाहरु माझ चर्चित, मिलनसार पार्टीप्रति प्रतिवद्ध तुलसी पाण्डेलाई तपाईलाई व्यास नगरप्रमुखको उमेदवार बनाउछौ भनेर लुम्बिनीे होटलमा बसेर एमाले तनहूँकै उच्च नेताहरुले पटक पटक भनेको कुरा पनि बजारभरि उहिल्यैदेखि गाँईगुई चलिरहेको छ ।
माओवादी युवा नेता अतेन्द्रकेशरी न्यौपानेलाई अगाडि बढायो भने कम्युनिष्टहरुबिच एकता हुन्छ कि झिनो आशा गर्ने मानिसहरुको कम्ता छैन बजारमा भने व्यास नगरपालिकाको मुटु व्यास ४ की जनप्रतिनिधि, आदिवासी जनजाति महासंघ तनहूँकी अध्यक्ष एवं चतुर नेतृ बसुन्धरा घर्तिलाई नगरप्रमुखको टिकट दिएर कांग्रेस ईतर र कांग्रेसका असन्तुष्ट पक्षसग गठबन्धन गरेको खण्डमा आदिवासी जनजातिको पनि सद्भाव पाउदै व्यासमा ईतिहास रच्न गारो नपर्ने एकथरिको अनुमान रहेको छ ।
केन्द्रिय सरकारका मन्त्री कृष्णकुमार श्रेष्ठ किसानको गृहनगरमा नगरप्रमुखको उमेदवार नउठाउदा पार्टीलाई घाटा पर्ने भएकोले विश्व न्यौपानेले व्यास ४ को वडा अध्यक्षमा नै चित्त बुझाए ठिकै छ नत्र नेकपा (एस्) ले न्यौपानेलाई नगरप्रमुखको उमेदवार बनाउने लगभग निश्चित नै रहेको छ ।
नेकपा एमालेसग कटुतापूर्ण सम्बन्ध हुदै गर्दा कांग्रेस ईतर समुह र कांग्रेसका असन्तुष्ट समुह एकजुट हुनसक्यो भने नेकपा (एस) का केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष शंकरनारायण श्रेष्ठलाई व्यासमा कांग्रेस उमेदवारलाई पराजित गर्नसक्ने भरपर्दो उमेदवारको रुपमा धेरैले हेरेका छन् तर पनि एउटै पार्टीमा हुदाँ एमाले पार्टी पंक्तिसग सम्बन्ध राम्रो बनाउन नसक्नुभएका र उहाँका शब्दमा दवाईएका श्रेष्ठले त्यो मौका पाउने सम्भावना अत्यन्तै कम रहेको छ ।
तनहूँँको निर्वाचनमा सबैले एकसे एक उमेदवार खडा गरेपनि आफ्नो अपमानको बदला लिन जिल्ला दौडाहामा निस्कनु भएका नेपाली कांग्रेसका नेता गोविन्दराज जोशी फ्याक्टरले महत्वपूर्ण भुमिका निभाउने धेरै व्यक्तिहरुको आंकंलन रहेको छ ।
नेता जोशी जहाँ पुग्यो त्यहि आफुलाई सच्चा कांग्रेस र कम्युनिष्ट हुँ भन्न रुचाउनेहरुले हात जोड्दै ”जोशी सर हेनुर्स त तपाईले जस्तो छोड्नुभाथ्यो त्यस्तै छ गाँउ, उन्का कार्यकर्ताको डोजरलाई काम दिनको लागि बेला बेलामा खाल्टाखुल्टी सम्याए झै, पुरे झै गर्छन् । तपाईले दिएको टिनले छाएको स्कुल चुहिने भईसक्यो । ईमान्दार, त्यागी नेता, कार्यकर्तालाई कस्ले हेर्छ र ? हामीले त तपाईलाई झलझली सम्झिरहेका छौ , लौन अब त तपाईले केहि गर्नुपर्यो ” भन्दै जुम्ला हात जोडेका दृश्यहरु छ्याप्छ्याप्ति भेटिएका छन् । नेता जोशीले पनि अब आउने निर्वाचनहरुमा कुरा मिल्नेहरुसग गठबन्धन गर्ने चर्चा चलाउनुभएको छ ।
नेता जोशीको चाहना नभएपनि उहाँका शुभचिन्तक, नेपाली कांग्रेसका असन्तुष्ट पक्ष र कांग्रेस ईतर समुहले गोविन्दराज जोशी पुत्र दिपकराज जोशीलाई उमेदवार बनाउन ठुलो कसरत गर्ने सम्भावनालाई नर्कान सकिदैन । जोशी पुत्रको नगरप्रमुखमा उमेदवारी परेको खण्डमा तनहूँको राजनितीमा नयाँ गठबन्धन बन्नेछ त्यस्को मार व्यास कांग्रेसमा मात्र होईन समग्र तनहूँको निर्वाचनमा पर्ने पक्का छ । विश्वस्त सुत्रका अनुसार जोशी पुत्रलाई उमेदवार बनाएर निर्वाचनको मैदान रोचक बनाउन भित्रभित्र खिचडी पाकिरहेको छ त्यसैको कारण हुनसक्छ आजकल बिशेषगरि तनहूँ कांग्रेसका गुट संचालकहरु गोविन्दराज जोशीको दैलोको दर्शन गर्न र गुणगान गाउन अलि बढि नै थाल्नुभएको छ ।










