विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं.२ की ९० वर्षीया जगमाया श्रेष्ठको हत्या आरोपमा प्रहरीले उनका छोरा ४८ वर्षका कमललाई पक्राउ गरेको छ । माघ १२ गते राति वृद्धाको अन्येष्टि गरेको खबर पाएको प्रहरीले हत्या भएको आशंकामा कान्छो छोरा कमललाई पक्राउ गरेको हो । उनलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
माघ १२ गतेदेखि आमा हराएको भन्दै वृद्धाका जेठा छोराले माघ १४ गते प्रहरीमा उजुरी दिएका थिए । वृद्धाको खोजी गर्ने क्रममा आफन्त र स्थानीयले शव जलाएको शंकास्पद ठाउँ देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि स्थानीय जयचोकस्थित गुरुङ समुदायको दाहसंस्कार स्थलमा पुगेको प्रहरीले वृद्धाको केही अंगहरू बरामद गरेको छ । र इलाका प्रहरी कार्यालय पथरीका डीएसपी कृष्ण खड्काको टोलीले कमललाई नियन्त्रणमा लिएको हो । उनले हत्यापछि माघ १२ गते बिहान उज्यालो नहुँदै शव जलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।
सम्पत्तिको लोभ
प्रहरीका अनुसार श्रेष्ठको परिवारमा केही वर्षयता मेलमिलाप थिएन । तीन छोरामध्ये आमा जगमाया कान्छा छोरासँग बस्दै आएकी थिइन् । आफ्नो नामको सम्पत्ति ९जिउनी० उनले कान्छा छोरालाई नै भोगचलन गर्न दिएकी थिइन् । तर छोराले राम्रो व्यवहार नगरेको भन्दै उनले आफूले दिएको सम्पत्ति फिर्ता मागिन् । जिउनी फिर्ता मागेको उजुरी पथरी शनिश्चरे नगरपालिकाको न्यायिक समिति हुँदै जिल्ला अदालतसम्म पुगेको थियो । अदालतले वृद्धाको पक्षमा फैसला गरेको थियो ।
पथरी बजार नजिकै वृद्धाको नाममा करिब ६ कट्ठा जग्गा रहेको प्रहरी स्रोतले बताएको छ । अदालतबाट जिउनी छुट्याउन अमिनसहितको टोली पुगेको केही दिनपछि उनी हराएकी थिइन् । वृद्धाको नाममा रहेको जग्गाको बजार भाउ प्रति कट्ठा २० लाख रुपैयाँ हाराहारी रहेको स्थानीय बासिन्दा बताउँछन् ।
पथरी शनिश्चरे नगरपालिका–२ का वडाध्यक्ष यमप्रसाद गुरागाईंका अनुसार श्रेष्ठ परिवारको जिउनीको जग्गा छुट्याउनका लागि अदालतबाट टोली आएपछि वडा कार्यालयका प्रतिनिधि पनि पुगेका थिए ।
‘अदालतबाट टोली आएको २र३ दिनपछि आमा हराउनुभयो,’ उनले भने, ‘१–२ दिन आफन्तको खोजी गर्दा नभेटिएपछि प्रहरीमा निवेदन परेको थियो ।’ आफूले जिउनी नपाउने अवस्था आएपछि कमलले हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । (अनलाईन खबर)








