तनहूँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ किसानको गृहजिल्लामा अस्पतालका चिकित्सकहरु आफ्नो श्रमको ज्याला अर्थात पारिश्रमिक नपाएपछि प्रमुख जिल्ला अधिकारीलाई गुहारेका छन् । तनहूँको सदरमुकाम दमौली अस्पतालमा कार्यरत ११ जना चिकित्सकहरुले आज एक ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल बुझाउदै दमौली अस्पतालमा कार्यरत चिकित्सकहरुले नेपाल सरकारबाट २०७७ श्रावण महिनादेखि आज माघ २१ गतेसम्म पनि तलबभत्ता नपाएको बताएका छन् । ज्ञापन पत्रमा असोजदेखि विना तलब हामी दमौली अस्पतालका छात्रवृत्ति करारमा कार्यरत चिकित्सकहरुले नियमित सेवा प्रवाह गरिरहेका छौ तर अस्पताल व्यवस्थापन समितिबाट विभिन्न शिर्षकमा दिईने भत्ताहरु पनि २०७७ श्रावणदेखि नै आफुहरुले प्राप्त गर्न नसकेका र कोभिड महामारीको समयमा ज्यान जोखिममा राखेर सेवा गर्ने स्वास्थ्यकर्मीलाई नेपाल सरकारले जोखिम भत्ता दिने निर्णय गरेपनि २०७७ साल श्रावणदेखि नपाएको ज्ञापन पत्रमा जनाईएको छ ।
पटक पटक अस्पताल प्रशासन र समितिलाई जानकारी गराउदा पनि मौखिक आश्वासन बाहेक केहि प्राप्त नभएपछि तलबभत्ता उपलब्ध गराउन अस्पताल प्रमुखलाई १ हप्ताको समय दिदा पनि केहि उपलब्धि हासिल नभएकोले माघ २३ गतेबाट दैनिक कामकाज गर्न असमर्थ हुने जनाईएको छ ।
दमौली बजारमा संचालित १५ बेडको दमौली अस्पतालको सेवा तलबभत्ता नपाउने चिकित्सकहरुको आन्दोलनका कारण प्रभावित हुने भएको छ ।









