गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई चिठ्ठीः मन्त्री घटाउनुस् तर दमौली अस्पतालका डक्टरहरुको तलब नरोक्नुस्

  • ख-
  • ख+

मुख्यमन्त्रीज्यू , दश औला जोडेर पुनः बिन्ति गर्दछौ दमौली अस्पतालमा साँचो नलाग्ने वातावरण बनाईदिनुहोला किनकी हामी नेपाली जनता हौ आफुले खाई नखाई कर तिरेर नेताहरुलाई उपचार गर्न सिगांपुर पठाउन सक्छौ तर हामी उपचार गर्न सिगांपुर जान सक्दैनौ ।

श्रीमान् मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलज्यू ,
गण्डकी प्रदेश, पोखरा ।


मुख्यमन्त्रीज्यू नमस्कार । मुख्यमन्त्रीज्यू यो चिठ्ठी पढ्ने बेलामा हजुर पक्कै पनि वातानुकुलिन आवासमा हुनुहुनेछ त्यसो हुन सकेन भनेपनि हजुरकै कारिन्दाले यस्तो चिठ्ठी छापेछन् भनेर २, ४ करोडको वातानुकुलिन कार यात्राको क्रममा हजुरलाई सुनाउनुहुनेछ ।
मुख्यमन्त्रीज्यु , मलाई पुरापुर विश्वास छ हजुर आरामै हुनुहुन्छ तर मुख्यमन्त्रीज्यु ,हजुरलाई आरामैको कामना गरिरहदा हामी अर्थात दमौलीवासीलाई कत्ति पनि आराम छैन । एकातिर कोरोनाको महामारीले तर्साईरहेको छ भने अर्कोतिर बजारमा भेटिने सुनभन्दा महगां खानपिनले स्वास्थ्य विगार्ने चिन्ताले सताईरहेको छ । यहिबेला दमौली अस्पतालका डक्टरहरुले तलब नपाएर सेवा बन्द गर्न लागेको खबरले हामीलाई झनै बिरामी बनाएको छ ।
ओहो अब त खोकि लागे कहाँ जाने ? रातिको समय छ बलिया बागां जति विदेशतिर भाँसिए, अलि अलि बचेका खुचेका काठमाण्डौ, पोखरा पसे बुढा बुढीलाई तल माथि परे कहाँ जाने ? हजुरले फ्याँट्ट भन्नुहोला ”काठमाण्डौ, पोखरा चितवनमा एकसे एक अस्पताल छदैछन् नि” छ न त छन् नि मुख्यमन्त्रीज्यू तर के गर्नु अस्पताल पस्नुभन्दा अगाडि मालपोतमा पसेर घर घडेरी बेच्नुपर्छ अनि कसरी ति अस्पताल पस्ने बारे सोच्ने हामीले ? यस्तो परिस्थितिमा घिटिघिटि नै सहि बन्द नभएको दमौली अस्पताल बन्द भयो भने हामी के गर्ने मुख्यमन्त्रीज्यु ?
नेपाल सरकारले स्वास्थ्यकर्मीलाई उपलब्ध गराउने भनिएको जोखिम भत्ता २०७७ सालदेखि नपाएको भनेर डक्टरहरुले रोईकराई गरेको सुनियो । कार्यालय प्रमुख डा. सुनिल पौडेललाई आफुहरुले पाउनुपर्ने भत्ता नपाएको त बर्षौ भयो, तलब पनि असोजदेखि हातमा परेन भनेर थाकेका ११ जना चिकित्सकहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र दिएको देखियो । ” पटक पटक तलब तथा सरकारले दिने भनेको भत्ता माग्दा पाईएन अब २३ गतेदेखि हामी काम गर्न सक्दैनौ ” डक्टरहरुले एकसाथमा भनिरहनुभएको छ । मुख्यमन्त्रीज्यु , के अब दमौली अस्पतालमा साच्चै साँचो लगाईदिने हो त ? के अब धेरथोर उपचार पाईन्छ कि भनेर बाँच्ने हामी प्रदेश सरकार अन्तर्गत संचालित अस्पतालका डक्टरहरुले तलब भत्ता नपाएपछि बन्द भएको अस्पतालको खुईलिएको बोर्ड हेरेर बस्नुपर्ने हो त ? स्वास्थ्यलाई उच्च प्राथमिकतामा दिनुपर्ने सरकारको चरम वेवस्तालाई हामी टुलुटुलु हेरेर बस्नुपर्ने नै हो त ?
दमौली अस्पतालको ईमेज राम्रो छैन भनेर तलब रोकिएको हो भने त्यो हामीलाई स्विकार छ मुख्यमन्त्रीज्यू । दमौली अस्पतालको ईमेज खास्सै राम्रो बन्न सकेको छैन हो यहाँ कार्यरत चिकित्सकहरुले कहिलेकाहि उदण्ड कामहरु गर्नुहुन्छ , जन्मदिन मनाउन आवासमा बसेर होहल्ला गर्नु , रक्सिका बोतल फ्याँकेर हल्लाखल्ला गर्दै छिमेकीलाई तर्साउनु, राति १२, १ बजे अस्पतालको गाडि लिएर भट्टीतिर चाहार्दै हिड्नु, कार्यालय समयमा काम नगरिकन ”म त पावर लगाएर जागिर खाएको मान्छे हुँ कस्ले चलाउन सक्छ मलाई ? ” भन्नु , अस्पतालमा हुने चेकजाँचहरु पनि कमिशनको लोभमा बाहिरका ल्यावहरुतिर गर्न पठाउनु , आफन्त वा कमिशन दिने क्लिनिकमा विरामीलाई जान सिफारिस गर्नु , स्वास्थ्य विमा अन्तर्गतका औषधीहरु स्टोरमा पुग्नासाथ गायब हुनु र बिरामीले नपाउनु लगायतका थुप्रै समस्याका चांगहरु छन् तर मुख्यमन्त्रीज्यू , हजुर र हजुरका जस्तै राजनितिक पार्टीको सिफारिसमा जागिर खानुभएका डक्टरसाबहरुको तलब किन रोक्नुहुन्छ ? कोरोनाको महामारीको विषम परिस्थितिमा एप्रोन लाएर विरामीको सेवा गर्नुपर्ने भगवानहरुलाई तलब चाहियो भनेर चाहार्नुपर्ने किन बनाउनुहुन्छ ? बिन्ति छ मुख्यमन्त्रीज्यू, हामीलाई प्रदेशमा २, ४ जना मन्त्री कम भएपनि हुन्छ तर दमौली अस्पतालमा काम गर्ने चिकित्सिकहरुले तलब उपलब्ध गराउनुस् किनकी दमौली अस्पताल हामीलाई चाहिन्छ ।
मुख्यमन्त्रीज्यू , दश औला जोडेर पुनः बिन्ति गर्दछौ दमौली अस्पतालमा साँचो नलाग्ने वातावरण बनाईदिनुहोला किनकी हामी नेपाली जनता हौ आफुले खाई नखाई कर तिरेर नेताहरुलाई उपचार गर्न सिगांपुर पठाउन सक्छौ तर हामी उपचार गर्न सिगांपुर जानै सक्दैनौ यो कुरालाई यहाँले हृदयंगम गरिदिनुहोला ।

प्रजातन्त्रका सेनानी गोर्वद्धन शर्माको छिमेकी

व्यास नगरपालिका वडा नंं १० बाट
माधब पौडेल

(तनहूँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई ज्ञापन पत्र बुझाउदै चिकित्सकहरु र तल दमौली अस्पताल)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?