जन्मदिनमा गाई संरक्षण केन्द्रलाई सहयोग गर्दै जमुना

  • ख-
  • ख+

तनहूँ । मंसिर १३ । एलायन्स क्लब अफ तनहुँकी अध्यक्ष जमुना जोशीले तनहुँको व्यास नगरपालिका–१० दुम्सी, शिसुवामा रहेको गौमाता संरक्षण केन्द्रका गाईसँग गएर जन्मदिन मनाउनुभएको छ । वहाँले जन्मदिनमा हुने फजुल खर्च कटाएर गाईलाई शनिबार दाना खुवाउँदै जन्मदिन मनाउनुभयो । जमुना जस्तै केन्द्रमा पुगेर गाईलाई दाना खुवाएर मनाउनेहरु बढेपछि गाईको पालनपोषणमा मद्धत पुगेको केन्द्रका अध्यक्ष प्रजापति सापकोटाले बताउनुभयो ।

सामाजिक काम प्रति इच्छा भएको र गाई भगवानको रुप भएकोले जन्मदिन मनाउन संरक्षण केन्द्रमा आएको जानाकारी जमुनाले दिनुभयो । ४ बोरा दाना र एक बोरा नुन बोकेर पुग्नु भएकी जोशी गाईसँग जन्मदिन मनाउन पाउँदा आनन्दित भएको बताउनुभएको थियो । ‘ बेलैमा ध्यान नदिने हो भने रैथाने गाई लोप भएर जाने अवस्था छ समाजमा सकरात्मक सन्देश पनि जाने भएकोले गाईको साथमा जन्मदिन मनाउन पाउँदा निकै खुसी लागेको छ’ वहाँलेभन्नुभयो ।

धेरै गाई भएकोले पाल्नको लागि कठिन भईरहेको र जन्मदिन मनाउन आउनेहरुले दाना खुवाउने गरेकोले केही राहत मिलेको गौमाता केन्द्रका अध्यक्ष सापकोटाले जानकारी दिनुभयो । यो वर्ष जन्मदिन मनाउनेहरुबाट ४५ बोरा दाना र पाँच बोरा नुन प्राप्त भएको उहाँले बताउनुभयो । सापकोटका अनुसार हाल सुख्यायाम भएकोले घाँसको अभावले पाल्न कठिन भइरहेको छ । ‘ खर्च अभावले जति गाईको सम्भार गर्नु पर्ने हो त्यही गर्न सकिएको छैन ’ सापकोटाले भन्नुभयो ।
दुई वर्ष अघि उक्त स्थानमा केन्द्र सञ्चालनमा आएको केन्द्रलाई गत वर्ष व्यास नगरपालिकाले पराल खरीद गर्नको लागि २ लाख रुपियाँ दिएको र यस वर्ष १ लाख रुपियाँ प्राप्त भईसकेको जानकारी उहाँले दिनुभयो । ‘राम्रोसँग खुवाउने हो भने दैनिक २० भारी पराल चाहिन्छ दाना र घाँस समेत गरेर वार्षिक रुपमा २० लाख खर्च हुन्छ ’अध्यक्ष सापकोटाले भन्नुभयो ।

भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको ५ लाख रुपियाँको आर्थिक सहयोगमा गाईको आवासको लागि टहरो निर्माण गरिएको छ । ४५ वटा गाई रहेको केन्द्रको लागि व्यास नगरपालिकाले १२ लाख रुपियाँ सहयोग गरेको तारबार गरिएको वडा अध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो ।

तस्विर –अमरराज नहर्की

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्