तनहूँ । तनहूँको व्यास नगरपालिका वडा नं. ५ चुदेर निवासी दुवै मृगौलाबाट पीडित भएका ४४ वर्षीय थमन बहादुर थापाको उपचारको लागि सोमबार १ लाख ४६ हजार ६ सय ३५ रुपैयाँ हस्तान्तरण गरिएको छ । उनका काका देव बहादुर थापाले संकलन गरी ल्याएको रकम पीडितको उपचारका लागि हस्तान्तरण गरिएको हो । व्यास नगरपालिका वडा नं. ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठको रोहवरमा संकलन गरेर ल्याएका चुदेर घर भइ हाल बुटवलमा बस्दै आएका थापाले पीडितलाई उक्त रकम उपलब्ध गराउनुभएको हो । यु.के., नेदरल्याण्डस र नेपालको बुटवल उपमहानगरपालिकाको आसपासबाट संकलित गरी ल्याइएको उक्त रकम थापाले पीडितलाई उपलब्ध गराउनुभएको हो । सोही अवसरमा साउदी अरबबाट संकलित ३० हजार रुपैयाँ समेत पीडितलाई उपलब्ध गराउने आश्वासन दिइएको थियो । आर्थिक अवस्था कमजोरका कारण मृगौला प्रत्यारोपण गर्न नसक्नुभएका थापा उपचारको खोजीमा भौतारिदै आउनुभएको छ । चिकित्सकले १२ देखि १३ लाख रुपैयाँ उपचारमा खर्च लाग्ने जनाएको उहाँले बताउनुभएको छ । थापाका २ छोरा रहेका छन । अहिलेसम्म उपचार गर्दा ७ लाख भन्दा बढी रकम खर्च भइसकेको पनि उहाँले जानकारी दिनुभयो । हप्तामा २ पटक डायोलासिस गर्नु पर्ने र साढे ७ हजार रुपैयाँ खर्च हुने उहाँले बताउनुभयो । भारतमा २० वर्षसम्म सुपरभाइजरको पदमा काम गर्नुभएका थापा मृगौला फेल भएपछि नेपाल फर्कनुभएको हो ।
काम गर्दागर्दै थकाइ लाग्ने र हिडडुल गर्न नसक्ने भएपछि स्वास्थ्य जाँच गर्दा मृगौला फेल भएको थाहा पाएँ उहाँले भन्नु्भयो । त्यसपछि आफ्नै देश नेपाल फर्किनु भएका उहाँ दिनरात उपचार रकम जुटाउनकै लागि भौतारिने गर्नुभएको छ । उक्त अवसरमा वडा अध्यक्ष श्रेष्ठले थापाको उपचारका लागि व्यास नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभएको छ ।
रकम सहयोग संकलन गरी ल्याएका देव बहादुर थापा, सिन्धु प्राविका सहायक प्र.अ. ताराबहादुर थापा, चुदेर टोल विकास संस्थाका अध्यक्ष दलबहादुर थापा लगायतले थापालाई बचाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको थियो । थमनबहादुर थापा बचाउ अभियान अन्तर्गत स्थानीयहरुले टोल विकास संस्था र स्थानीय तहहरुमा समेत सहयोग संकलन कार्यलाई तिब्र बनाउनुभएको छ ।








