वडाध्यक्षले चलाएको मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु

  • ख-
  • ख+

उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका -६ का वडाध्यक्ष निर्मलकुमार चौधरीले चलाएको मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । गएराति साढे ९ बजेतिर गाईघाटबाट घर जाने क्रममा चौधरीले चलाएको मोटरसाइकलले त्रियुगा नगरपालिका- ५ कुमारी चोकका ५० वर्षीय रामचन्द्र चौधरीलाई ठक्कर दिएको हो । रामचन्द्रको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

वडाध्यक्ष सवार नगरपालिकाको स. १ ब ८९७ नम्बरको सरकारी मोटरसाइकलले रामचन्द्रलाई ठक्कर दिएको थियो ।
मोटरसाइकलले सडक किरानाको विद्युतको पोलमा पनि क्षति पुर्‍याएको छ । दुर्घटनामा वडाध्यक्ष चौधरीसमेत घाइते भएको र उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै गाईघाट(कदमा खण्डको सडक बिहान तीन घण्टा अवरुद्ध गरे ।

सर्वपक्षीय छलफलले मृतकलाई कानूनबमोजिम क्षतिपूर्ति दिने र परिवारका सदस्यलाई जागिर लगाइदिने सहमति भएपछि बाटो खुलेको छ । चौधरीको शव जिल्ला अस्पताल गाईघाटमा पोष्टमार्टमका लागि राखिएको छ । (नेपालप्रेस)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?