तनहूँ । बन्दिपुर गाँउपालिकामा जनप्रतिनिधिहरु आएपछि निकै राम्रा विकास निर्माणका योजनाहरु अगाडि बढेका छन् । चिनको ग्रेटवालको कपि गर्दै बन्दिपुरमा मिनि ग्रेटवाल बनाईदैछ भने पर्यटकिय राजधानी बनाउन बन्दिपुरमा शिशाको भ्यु टावर बनाउने योजना पनि अगाडि बढेको छ । लाखौ करोडौका योजनाहरु बनाउने बन्दिपुर गाँउपालिकाले भने बन्दिपुरको मुटु टुडिखेलमा रहेको शौचालयको मर्मत सम्भारमा कुनै पनि ध्यान दिएको छैन ।
बसपार्क क्षेत्रमा सार्वजनिक शौचालय नबनेसम्म पहाडकी रानी बन्दिपुर आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि निर्माण गरिएको एकमात्र शौचालय मर्मत नहुँदा आगन्तुकहरुलाई गारो त भएको छ नै जनप्रतिनिधिहरु र कर्मचारीतन्त्रको ध्यान कता रहेछ भन्ने गम्भिर प्रश्न खडा भएको छ । बन्दिपुरमा करोडौको लगानीमा बन्दै गरेको केवलकारको अफिसतिर हप्ता हप्तामा धाउने कर्मचारी
र जनप्रतिनिधिहरुको नजरमा आमसर्वसाधारण तथा पर्यटकहरुको लागि अत्यावश्यक यो सार्वजनिक शौचालयको अवस्थाको बारेमा थाहा छ कि छैन एकपटक भ्रमण गराउन आवश्यक रहेको छ ।
जनताको प्रत्यक्ष सरोकार राख्ने बिषयहरुको सम्बोधन गर्न अग्रसर गर्नतिर नलागि प्रचारप्रसार र मिडियामा छाउनका लागि काम गर्ने प्रवृत्तिले बन्दिपुर गाँउपालिकाका कर्मचारीतन्त्र तथा जनप्रतिनिधि लाग्नुभएको कुरा टुडिखेलमा अवस्थित सार्वजनिक शौचालयको अवस्था हेर्दा जो कोहिले सजिलै अनुमान गर्न सक्दछ ।












