तनहूँ । सवारी साधन किन्न र चढ्न तछाड मछाड गर्ने जनप्रतिनिधि र कर्मचारीहरु भएको व्यास नगरपालिकाको ट्याक्टर वेवारिसे भेटिएको छ । व्यास नगरपालिकाको वडा नं. ३ को प्रशासनचोक नजिकैको जिल्ला विकास समिति) जिल्ला समन्वय समितिको जग्गाभित्र व्यास नगरपालिका लेखिएको ट्याक्टर वेवारिसे भेटिएको हो । निलो रंगको ठुलो ढाला भएको , टायरहरु कुहिन लागेको, नम्बर नखुलेको ( अलिअलि बुझिने बा १ …१४५) अस्तव्यस्त भएका ईन्जिन र पाटपुर्जा सहित झाडिमा रहेको छ । उक्त ट्याक्टरको अवस्था नगरपालिकामा नयाँ ट्याक्टर खरिद पश्चात उक्त ट्याक्टर त्यहाँ ल्याएर राखिएको वा प्रयोग विहिन बनाईएको अनुमान गर्न सकिन्छ ।
नगरपालिकामा कतिवटा ट्याक्टर रहेको रहेको छ र के कस्तो कन्डिशनमा रहेको छ भनेर जिन्सि शाखाका कृष्णप्रसाद पौडेललाई जिज्ञासा राख्दा नगरपालिकासग जम्मा २ वटा ट्याक्टर रहेको सबै संचालनमा आएको बताउनुभएको छ ।
जिल्ला समन्वय समितिको जग्गाभित्रको झाडिमा व्यास नगरपालिका लेखिएको ट्याक्टर वेवारिसे भेटिनु र नगरपालिकाको जिन्सि शाखाबाट नगरपालिकासग जम्मा २ वटा ट्याक्टर रहेको बताउनुले अन्य कुनै व्यक्तिले व्यास नगरपालिकाको नाममा ट्याक्टर संचालन गरि उक्त स्थानमा ल्याएर राखेको अनुामन गर्न सकिन्छ ।
उक्त ट्याक्टर कहिलेदेखि उक्त स्थानमा राखिएको हो भनेर स्थानिय बासिन्दाहरुसग जिज्ञासा राख्दा नगरपालिका कर्मचारीले चलाउदा बरिष्ठ कर्मचारीको मिलेमतोमा उक्त ट्याक्टर चलाएर नगरपालिकाको नाम बदनाम गरिएको, त्यतिबेला ट्याक्टरमा नगरपालिकाको नाम लेखेर अनेकन काम गरेका र आफ्नो स्वार्थ पुर्ति भएपछि बर्षौदेखि उक्त स्थानमा कर्मचारीले थन्क्याएको आशंका गर्नुभएको छ ।














