काठमाडौं । सांसद जगदिश खरेलले आफुमाथि लागेको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिने भनाई व्यक्त गरेका छन् ।
उन्ले सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्ने क्रममा आफूविरुद्ध स्मार्ट टेलिकमको ३० अर्ब ठगी प्रकरणमा जोडिएको भन्दै समाचारहरू भ्रामक भएको टिप्पणी गरे ।
उनले स्मार्ट टेलिकमको प्रकरणमा जोडिएर आफूले एउटा बैठक, फाइल पारित गर्ने कुनै काम नगरेको पनि जिकिर गरे ।
‘स्मार्ट टेलिकमको ३० अर्ब ठगी प्रकरणमा मलाई जोडेर सुटुक्क स्वीट्जरल्याण्ड भागे भनेर लेखिएको समाचार यति निरर्थक, भ्रामक र सी ग्रेडको पत्रकारिता पनि भन्न नसुहाउने हिसाबमा जसरी समाचार प्रकाशित गरियो,’ खरेलले भने, ‘यसले मेरो मान, सम्मान, इज्जत, राजनीतिक जीवन, समग्र संसद् र मेरो पार्टीभित्र अपमान गरेको महसुस गरेको छ । यो संसद्मा रेकर्ड रहोस् भनेर यसको खेद र भर्त्सना गर्न चाहन्छु ।’
उनले थप चुनौती दिँदै भने, ‘म खुला रुपमा चुनौती दिन चाहन्छु कि यो प्रमाणित गर, प्रमाणित गर्न सक्दैनौं भने पत्रकारिताको जीवनबाट पत्रिका बन्द गर्न सक्ने हिम्मत छ रु’
यदी आफू उक्त प्रकरणमा जोडिएको प्रमाणित भए सिंगो राजनीतिक जीवनबाट बिदा लिने पनि उनले घोषणा गरे ।






